नेपालद्धारा श्रीलंकाका बाढी पीडितलाई ५० हजार डलर सहयोग

काठमाडौं १७ जेठ

नेपाल सरकारले श्रीलंकाका बाढी पहिरो पीडितको सहयोगका लागि ५० हजार डलर अर्थात नेपाली ५१ लाख ८५ हजार रुपैयाँ बराबर सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रीपरिषदको बैठकले श्रीलंकामा बाढी पीडितका लागि ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको हो ।

‘छिमेकी राष्ट्र श्रीलंकामा प्राकृतिक प्रकोप बाढी पीडितको सहयोगका लागि ५० हजार डलर दिने मन्त्रीपरिषदबाट निर्णय भएको छ’ सरकार प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री राम कार्कीले भने ।

श्रीलंकामा यसै साता गएको बाढीका कारण २ सय भन्दा बढीको मृत्यु भएको छ । एजेन्सीहरुका अनुसार ९४ जना अझै हराईरहेका छन् ।

श्रीलंकाको विपत व्यवस्थापन केन्द्रका अनुसार ६ लाख २९ हजार ७ सय ४२ मध्ये १ लाख ६३ हजार ७ सय १ घरपरिवार प्रभावित बनेका छन् । बाढीका कारण १ हजार ५ सय ५ घर पूर्ण क्षति भएको छ भने ७ हजार ६ सय १७ घरमा आंशिक क्षति पुगेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।