काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का सम्पादकसँगको मंगलबार
ललितपुरमा भएको अन्तरक्रियामा उनले निर्वाचनका लागि आवश्यक मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ लगभग सकिसकेको र मतपेटिका लगायतका निर्वाचन सामग्रीको जिल्ला जिल्लामा ढुवानी भइरहेको जानकारी दिँदै निर्वाचन हुनेमा अब कुनै शङ्का नरहेको बताए ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने – “लोकतन्त्रमा दलीय सहमति वा असहमति हुनु स्वाभाविक हो । आयोगले सावधानीपूर्वक काम गरिरहेको छ । दलहरु निर्वाचनबारे अर्को सहमति गरेर अघि बढे पनि आयोगलाई मान्य हुने छैन ।”
“निर्वाचन जनताको हातमा हुन्छ, मतदाताको हातमा हुन्छ, खेलाडी राजनीतिक दलहरु हुन्, निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन मात्रै गर्ने हो,” उनले भने ।
निर्वाचनको व्यवस्थापन र तयारीमा आयोग निकै अघि बढिसकेकाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न अब अध्यादेश आउन नसक्ने उनको भनाइ थियो । त्यसो गर्दा निर्वाचनका सम्पूर्ण प्रकृया अवरुद्ध हुने चेतावनी पनि उनले दिए ।
यस पटकको निर्वाचनमा मतदान ८० प्रतिशत भन्दा बढी पु¥याउने र बदर मत २ प्रतिशतमा झार्ने लक्ष्य आयोगले राखेको उनले जानकारी दिए ।