काठमाडौं, ३० चैत । प्रहरी महानिरीक्षक नियुक्तिको लफडा टुंग्याउन सोमबार साँझ साढे पाँच बजे शुरु भएको मन्त्रिपरिषद् बैठक केहीबेर ब्रेक भयो र फेरि राति अबेरसम्म चल्यो । चल्दाचल्दै केहीका मोबाइलमा एसएमएस आउन थाले । नयाँ प्रहरी महानिरीक्षक छनौटका लागि बढुवा समितिको बैठक बसिरहँदा हो, विद्युतीय सन्देशको ओइरो लागेको ।
जनआस्था साप्ताहिकमा खबर छ–त्यसमा लेखिएको थियो, ‘कासमूमा कीर्ते भएको छ। त्यही अाधारमा निर्णय भयो भने अदालतले तपाईहरु कसैलाई बाँकी राख्दैन ।’
कीर्ते भनिएको फोटोकपी पनि एक-दुई दिनअघिदेखि नै ठाउँ-ठाउँमा पुगेको रहेछ । यस्तो एसएमएस आयो भनेर कामु आइजीपी डा. दिनेशचन्द्र पोखरेल, मुख्यसचिव सोमलाल सुवेदी र गृहसचिव लोकदर्शन रेग्मीबीच मुखामुख चल्यो।
प्रत्येकका मोबाइलमा यस्तो सन्देश आउन थालेपछि फेरि पनि कार्यसम्पादन मूल्यांकनको रेसा-रेसा केलाई हेर्न थालियो । त्यसपछि नयाँ आईजी छान्न जुटेको टोलीले २२ पेजको व्याख्या, विश्लेषण, आधार, प्रमाणसहित लेखेर मन्त्रिपरिषद्लाई थमायो, ताकि, भोलि कतैबाट प्रश्न उठेमा जवाफ दिन सजिलो होस्।






