काठमाडौं ५ माघ
भारतले नेपालको करिब ५० बिघा भूमि मिच्दा समेत नेपाल सरकार र नेपालका राजनीतिक दल लाचार देखिएका छन् । स्थानीयबासीले नेपाल भूमि मिचिएको भनेर कराईरहँदा पनि अहिलेसम्म नेपाल भूमि मिचिएको बारे नेपाल सरकार र प्रमुख दलका नेताले मुख खोलेका छैनन् ।
![]() |
| केही दिन अगाडी सिमा सर्वेक्षण गर्दै दुई देशका अधिकारी । |
नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रममा भारतले सीमा स्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमा स्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको हो ।
नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) ले निर्माणको जिम्मा पाएको छ । नेपालको सर्भे विभागले भने सिमा नमिचिएको भनेर भारत पक्ष नै लिएको पाइएको छ ।
तर, एसएसबीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१ छपकैयामा सहायक स्तम्भ नेपालतिर सारेर नेपाली भूमि मिचेको स्थानीयले गुनासो गरेका छन् ।
छपकैया क्षेत्रमा १२ जनाभन्दा बढी स्थानीयको नम्बरीसहित झन्डै ५० बिघा जमिन मिचिएको स्थानीयको दाबी रहेको नयाँ पत्रिकाले खबर छापेको छ ।
नेपालीले तिरो तिरेर भोग चलन गरेको जग्गा भारततिर गायब
मुख्य स्तम्भ ३९१ र ३९२ रहेको सो क्षेत्रमा ३९२ नम्बर मुख्य स्तम्भको सहायक स्तम्भ निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार स्तम्भ नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक स्तम्भ निर्माणका क्रममा नेपालको भू–भाग मिचिएको छ ।
वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा पिलर गाड्नलाई खाल्डो खनेपछि आफूहरू छक्क परेको र त्यसको विरोध गरेको स्थानीय रवीन्द्र महतो कोइरीले बताए ।
‘हामीलाई थाहै नदिईकन, हाम्रो नम्बरी जग्गामा आएर पिलर गाड्न खाल्डो खनेका रहेछन्,’ उनले भने, ‘पुरानो पिलर सिर्सिया नदीपारि छ, तर नयाँ पिलर नदीवारि ल्याइएको छ । हामीले जग्गाको कर तिरिरहेका छौँ, एक्कासी कसरी भारतको हुन्छ ?’
गत २२ पुसमा नेपालको सर्भे टोलीले आफ्नो कित्ता नम्बर १४ को नम्बरी जग्गामा सीमास्तम्भ गाडेको कोइरीको भनाइ छ ।
त्यसैगरी, स्थानीय नेमी साह कानु र असर्फी साह कानुको नाममा रहेको जग्गाको केही भाग पनि भारततर्फ पारिएको छ ।
जग्गामा स्तम्भ गाड्न खाल्डो खनेको जानकारी पाएपछि आएर विरोध जनाएको नेमीका छोरा बद्री साह कानुले बताए ।
नयाँ स्तम्भ गाड्न लागेको क्षेत्रमा हजुरबुबाबाट बुबाहरूको नाममा आएको कित्ता नम्बर ६५, ५४ र ५२ को नम्बरी जग्गा रहेको उनले बताए ।
स्थानीयले दुवै देशका अधिकारीहरूले नापेर सीमास्तम्भ मर्मत र निर्माण गरिरहेको भनिए पनि लापर्बाही भएको आरोप लगाएका छन् । तिरो तिरेर वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतको हुनै नसक्ने उनीहरूको भनाइ छ ।
‘उताको प्रहरी उतै बस्छन्, यताको प्रहरी यतै बस्छन् । नदी वारिपारि गर्दा बुट भिज्छ भन्ने चिन्ताले नेपालको जमिन भारततर्फ परिरहेको छ ।’
रवीन्द्र महतो कोइरीले भने ‘बर्सेनि तिरो तिरेर भोगचलन गरेको जग्गा कसरी भारतमा पर्छ रु भारतकै हो भने, राज्यले हामीलाई कसरी दियो ? ’
सर्भे टोली विवादित
स्थानीयले सिमा मिचिएको दाबी गरिरहँदा सर्भे टोली भने नमिचिएको दाबी गर्दै विवादमा फसेको छ । नेपाल भारत सीमा सर्वेक्षण टोलीका टिम लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले स्थानीयले प्राविधिक कुराहरू नबुझेका कारण स्तम्भ निर्माणका क्रममा समस्या देखिएको बताउँछन् । तर स्थानीयहरू भने बर्सेनि तिरो तिरेर भोगचलन गर्दै अाएकाे जग्गा भारततिर परेकाे भनेर गुहार मागीरहेका छन् ।
५० प्रतिशत सीमा स्तम्भ भारतीयद्धारा गायब
यसअघि सिमा सर्वेक्षणमा खटिएका सर्वेक्षकहरूले नेपाल–भारत सीमाक्षेत्रका ५० प्रतिशत सीमा स्तम्भ गायब भएको पाएका थिए । सप्तरीबाट ५० र सिरहाबाट २० प्रतिशत सीमा स्तम्भ गायब भएको सर्वेक्षकको भनाई छ । सर्वेक्षणका क्रममा सिरहामा २० र सप्तरी जिल्लामा ५० प्रतिशतभन्दा बढी सीमा स्तम्भ हराएको पाइएको सर्वेक्षक रञ्जन ढुंगानाको भनाई छ । (नयाँ पत्रिकाकाे सहयाेगमा)
Comments








