नेपालगन्ज २२ चैत । स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गएपछि कामका लागि भारत गएका नेपाली काम छाडेर धमाधम घर फर्किन थालेका छन् । निर्वाचन हुन लागेको खवर सुनेपछि घर फर्किने नेपालीको सीमा क्षेत्रमा घुइँचो लाग्ने गरेको छ ।
‘यता स्थानीय तहको निर्वाचन हुन लागेको खबर सुनेदेखि उता काम गरेर बस्न मनले मानेन,’ साबिक दहचौर–३ सुर्खेतका २९ वर्षीय टेकबहादुर कठायतले भने, ‘त्यसैले काम छाडेर निर्वाचनमा सहभागी हुनैका लागि फर्किरहेको छु ।’ पहिलोपटक स्थानीय निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनी बढी नै उत्सुक देखिएकाे खबर नयाँ पत्रिकामा छ ।
कठायतले आफूले चाहेको व्यक्तिलाई जिताउन नेपाल फर्किएको बताए । आफूले मताधिकार प्रयोग नगर्दा कुनै गलत व्यक्ति स्थानीय तहमा पुग्न सक्ने भएकाले आफू हतारिएर आएको उनले बताए । ‘मेरै कारण गलत व्यक्ति गाउँपालिका र वडाको प्रतिनिधि बनेर नआओस्, आफ्नो एक भोटले गाउँको विकासमा टेवा पुग्छ कि भनेर उताको काम छाडेर आएको हुँ,’ कठायतले भने ।
साविक घाझरीपीपल गाविस–९, घाझरीपीपलका तिलक परियारको साथमा २१ जनाको टोली शुक्रबार भारतको देहरादुनबाट फर्किएको छ । भतिज निमबहादुर विक गाउँपालिकाको वडासदस्य पदका लागि उम्मेदवार बन्ने भएपछि प्रचार–प्रसारका लागि नेपाल आएको उनले बताए । ‘निर्वाचन प्रचार–प्रसार गर्न जसरी भए पनि आउनुप¥यो भनेर गाउँबाट फोन गयो, फोन गएपछि बस्न मन लागेन, अनि हतार–हतार फर्कियौँ,’ उनले भने ।
परियारले ३१ वैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा हाम्रो मान्छेभन्दा राम्रो मान्छेलाई जिताउने बताए । उनले विकासको योजना बनाउने र सर्वसाधारणको सुखदुःखमा साथ दिने व्यक्तिलाई मतदान गर्ने बताए । ‘अब हामीलाई विकास चाहिएको छ, विकासका लागि राम्रो मान्छेलाई जिताउनुपर्छ,’ परियारले भने ।
साविक लेखफर्सा– ५, सुर्खेतका वीरभान सुनारसँगै उनका १६ जना साथी पनि शुक्रबार नै भारतबाट नेपाल फर्किएका छन् । उनले स्थानीय तहको निर्वाचन हुन लागेको खबर पाएपछि मतदानका लागि नेपाल फर्केको बताए । निर्वाचन हुन लागेको थाहा पाए पनि गाउँपालिकाको नाम र वडाबारे आफूलाई जानकारी नभएको बताए ।
Comments