३० वैशाख । यही वैशाख १२ गते र हिजोको भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार २२६ जनाको मृत्यु भएको छ । 
हिजोको भूकम्पमा बुधबार अपराह्नसम्मा १३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपकराज खरेलले बताए ।
भूकम्पले अवरुद्ध भएको अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे–तातोपानी सडकमा यातायातका साधन सञ्चालन भएको एक हप्ता बित्न नपाउँदै हिजाको भूकम्पको शक्तिशाली झट्काले उक्त सडक पुनः बन्द भएको जानकारी उनले दिए । उनका अनुसार सडक पुनःसञ्चालनको प्रयास भइरहेको छ । 
यसैगरी उद्धार तथा राहतका काममा नमुना क्षेत्रका रुपमा पाइएको सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा नेपाली सेनाको भीमकाली गुल्मले अहोरात्र खटेर पीडितको सेवा गरिरहेको छ । 
अहिलेसम्म नेपाली सेनाले यस क्षेत्रबाट ४९ जनाको जीवतै उद्धार गरेको छ । सेनाको साहसपूर्ण कामको सर्वत्र प्रशंसा भएको छ । 
उक्त क्षेत्रका २४ गाविसमा एक हजार ४३१ को मृत्यु भएको उक्त गुल्मका सेनानी प्रेम हमालले बताउनुभयो । उच्च हिमाली भेगका केही वडाको तथ्याङ्क आउन बाँकी रहेको जानकारी पनि उनले दिए ।
दैवी विपत्तिमा परी घाइतेभएका ८१५ मध्ये २०६ जनालाई हेलिकप्टर, एम्बुलेन्स तथा अन्य सवारी साधनबाट उपचारका लागि धुलिखेल तथा काठमाडौँ पु¥याइएको सेनानी प्रेम हमालले बताए ।
भैँचालोमा परी घाइते भएकाहरूका निम्ति उपचारको व्यवथासमेत सोही गुल्मले गरेको छ । स्वदेशी एवम् विदेशी चिकित्सक एवम् समाजसेवी सङ्घसंस्थाले उक्त गुल्मको नेतृत्वमा सेवा प्रवाह गरिरहेको छ ।
यसैबीच नेपाली सेनाले पहिरोबाट सम्पर्क विहीन भएका भोताङको लार्के, बरुवाको रिपार, सुनचौर, याङ्ग्री, डोङ्ज्याङबाट दश जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको उप–सेनानी हुमनसिँह कुँवरले जानकारी दिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।