काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले केही समय अगाडि आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिबाट पीडित नेपालीलाई सघाउन नेपाल खानेपानी संस्थानका कर्मचारीबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरिएको रु तीन लाख ५८ हजार ३२५ सहयोग ग्रहण भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले सो रकम उल्लिखित चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

महाप्रबन्धक ढकालका अनुसार सो रकम संस्थानमा कार्यरत सबै तहका कर्मचारीबाट एकदिनको तलब कट्टा गरी सङ्कलित गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले देशमा विपत्ति आएको बेलामा देश विदेशमा रहेका सबै नेपालीमा गच्छेअनुसार उदारतापूर्वक सहयोग गर्ने असल संस्कार विकसित भएकामा आफूलाई सन्तोष लागेको बताएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।