काठमाडौँ, ११ कात्तिक । चीनको गुआङझाउ सहरस्थित प्रख्यात सन यात सेन विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले गत आइतबार नेपालको संस्कृति, पोसाक तथा खाद्य सामग्रीको प्रदर्शनी आयोजना गरे ।
सो अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा भारत, श्रीलङ्का र अरब राष्ट्रका विद्यार्थीले पनि आ–आफ्ना देशको कला संस्कृति प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बुद्ध, सगरमाथा, पशुपतिनाथ, नेपाली पोसाक, पर्व र पोखरा, चितवन, लुम्बिनी झल्काउने कला समावेश गरिएको थियो भने त्यहाँ राखिएका स्टलमध्ये नेपाली स्टल सबैभन्दा आकर्षक रहेको थियो । त्यहाँ नेपाली खुकुरी, आँखीझ्याल, थाङ्का स्वयम्भूको नमुना पनि प्रदर्शन गरिएको थियो । नेपाली विद्यार्थीले राष्ट्रिय पोसाक लगाएर नेपाली नृत्य तथा लोकगीत प्रस्तुत गरेका थिए भने धेरै चिनियाँ तथा विदेशी विद्यार्थीले नेपाली खाना मन पराएका थिए ।
समारोहमा एनआरएन चीनका अध्यक्ष अमृता थापा उपस्थित थिए । सो संस्थाले नेपाली विद्यार्थीलाई प्रदर्शनी आयोजना गर्न दुई हजार चिनियाँ मुद्रा सहयोग गरेको एनआरएन चीनका प्रवक्ता डा सागर न्यौपानेले जानकारी दिए ।