काठमाडौँ, ११ कात्तिक । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुन नेतृत्वको टोलीले आज उनकै निवास लाजिम्पाटमा भेटवार्ता गरेको छ ।
भेटका अवसरमा चिनियाँ पक्षले निर्धारित समयमा संविधान जारी भएर नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्ने आशा व्यक्त गर्दै नेपालले लिएको एक चीन नीतिप्रति चीनको सदैव सकारात्मक धारणा रहेको बताएको जनाइएको छ।
सो अवसरमा अध्यक्ष दाहालले एक चीनको नीतिप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै दुई देशका चासोका विषयमा आपसी छलफल र समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
उनीहरूबीच आपसी हित र द्विपक्षीय चासोका अन्य विषयमा पनि छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । सो अवसरमा एमाओवादीलाई तिब्बत सरकारले १०० थान कम्प्युटर उपहार दिएको खकुरेलले बताए ।