काठमाडौँ, ४ कात्तिक । प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरूबीच देखिएका मतभिन्नतालाई सहमतिमा रुपान्तरण गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक गोकर्ण रिसोर्टमा सुरु भएको छ ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीका विषयमा दलहरूबीच गम्भीर मतभेद रहँदै आएको छ । संविधानका अन्तरवस्तुमा सहमति खोज्ने सन्दर्भमा यो बैठक निर्णायक सावित हुने विश्वास गरिएको छ ।

संविधान जारी गर्ने आगामी माघ ८ गतेको समयसीमालाई प्रभावित नहुने गरी सहमति खोजिने प्रमुख दलका नेताहरूले प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

संविधानसभा मातहतको संवैधानिक राजनीति संवाद तथा सहमति समितिले संविधान लेखनको क्रममा दलहरूबीच देखिएका अन्य विवादलाई भने सुल्झाएको थियो ।

संविधान लेखनका दृष्टिकोणले अत्यन्त महत्व राख्ने यी विषयलाई सहमतिमा परिणत गर्न आवश्यक परेको खण्डमा आवासीय छलफलसमेत गरेर कुनै न कुनै निष्कर्षमा पुग्ने बताइरहेको बेलामा गोकर्ण बैठकलाई अत्यन्त चासोका साथ हेरिएको छ ।

अघिल्लो गोकर्ण बैठकपछि प्रमुख दलका शीर्ष नेताहरूबीच हार्दिकता बढेको विश्वास गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।