खुम्बु क्षेत्रमा उद्धार टोली गठन

सोलुखुम्बु, २ कात्तिक । खुम्बु क्षेत्रमा रहेको पर्यटकीय यामलाई ध्यान दिएर सात सदस्यीय उद्धार टोली गठन गरिएको छ । 
सगरमाथा सेवा समाज नाम्चे सोलुखुम्बुको आयोजनामा नाम्चेमा भएको बैठकले गेलबहादुर थापामगरको संयोजकत्वमा सात सदस्यीय उद्धार टोली गठन गरेको हो । सो टिम ट्रेकिङ भरिया तथा पर्यटकलाई उचाइमा कुनै समस्या देखिएमा तत्कालै उद्धार गरी उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ गठन गरिएको संयोजक थापामगरले जानकारी दिए ।
सो टोलीले खुम्बुमा टे«किङ मौसमभर चौंरीखर्क गाविसको लुक्लादेखि नाम्चे र खुम्जुङ गाविसको विभिन्न क्षेत्रमा निरन्तररूपमा सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । उचाइमा विभिन्न समस्या आउँदा पर्यटकलाई तत्काल उद्धार नपाएकै कारण ज्यानसमेत जाने गरेको कारण उद्धार टोली गठन गरिएको जनाइएको छ । 
यसैबीच, सगरमाथा सेवा समाज नाम्चे सोलुखुम्बुले काठमाडौँ कालोपुल निवासी सलिना खड्काको उपचारको निम्ति रु ११ हजार ५०० सङ्कलन गरेर पीडितको खातामा जम्मा गरिदिएको छ । 
पेटमा ट्युमर भई ग्राण्डी अस्पताल काठमाडौँमा उपचार गरिरहनुभएका खड्काको परिवारले आर्थिक स्थिति कमजोर भएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट आर्थिक सहयोगको अपेक्षा गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।