इपिएसको भाषा परीक्षा सुरु

काठमाडौं १० असोज । रोजगार अनुमति प्रणाली (इपिएस)को पाँचौँ संस्करणअन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

    इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले आज बिहान भएको भाषा परीक्षा शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको जानकारी दिए ।

    परीक्षा सञ्चालनका लागि काठमाडौँमा १५ र ललितपुरमा सात गरी २२ वटा केन्द्र तोकिएका छन् ।

    बिहान १० बजे र दिउँसो २ः३० बजे गरी दुई चरणमा परीक्षा लिइनेछ । यो वर्ष ६२ हजारले भाषा परीक्षामा सहभागिता जनाउँदैछन् ।

    आज बिहान १५ हजार ५०० र दिउँसो १५ हजार ५०० गरी ३१ हजारले भाषा परीक्षामा सहभागी हुँदैछन् । बाँकी ३१ हजार भोलि बिहान र दिउँसो भाषा परीक्षामा सहभागी हुनेछन् ।

भाषा परीक्षाका लागि दक्षिण कोरियाको मानव संसाधन विकास (एचआरडी)का उपाध्यक्ष चुन बोक लिनको नेतृत्वमा ६२ सदस्यीय टोली बुधबार नेपाल आएका छन् ।

    कम्प्युटरमार्फत उत्तरपुस्तिका परीक्षण हुनेछ । भाषा परीक्षाको नतिजा असोज २९ गते सार्वजनिक हुनेछ ।

इपिएस प्रणालीमा सहमति भएको सात वर्षको अवधिमा चार पटक भएको भाषा परीक्षामा सफल २६ हजार नेपाली कामदार कोरिया गइसकेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।