उपराष्ट्रपति झा ल्हासा प्रस्थान, जाँदा सडक छेकेर सर्वसाधरणलाई हैरानी

काठमाडौँ, ८ असोज । उपराष्ट्रपति परमानन्द झा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भोलिदेखि असोज ११ गतेसम्म आयोजना हुने प्रथम चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

    तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको उक्त मेलामा विशेष अतिथिका रुपमा सहभागी भई उपराष्ट्रपति झा कैलाशमान सरोवर यात्रामा जाने कार्यक्रम रहेको छ ।

    भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी, उपराष्ट्रपतिको कार्यालयका सचिव राजकुमार मल्ल, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायत छन् ।

उपराष्ट्रपति झालाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव खगनाथ अधिकारी, नेपालका लागि चीनका राजदूत वु चुन्ताई, उपराष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीलगायतले बिदाई गरेका थिए ।

    उपराष्ट्रपति झा यही असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
यसैबीच, उपराष्ट्रपति झाको सवारीका समयमा बाटो छेकिए पछि सर्वसाधरण भने हैरानीमा परेका छन् । राजामहराजाको झैँ सवारीको बेला बाटो रोकेर दुःख दिएको भन्दै सर्वसाधरणले दुःख व्यक्त गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।