काठमाडौँ, ६ असोज । एक घर एक रुख, एक गाउँ एक वन, र एक सहर अनेक उद्यानको नीतिलाई साकार पार्नका लागि सरकार लागिपरेको छ । 
वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले अन्तर्राष्ट्रिय शान्ति दिवस, स्मारक दिवस र आठौँ घुन्सा स्मृति दिवसका उपलक्ष्यमा राष्ट्रिय सहिद स्मारक र गोपाल मीना राई स्मृति प्रतिष्ठानले आयोजना गरेको भेलाको आज गोकर्णमा उद्घाटन गर्दै मन्त्री आचार्यले घुन्सा स्मृति स्मारकलाई जैविक विविधताको संरक्षण स्थलका रुपमा विकास गरिनुपर्ने बताए ।
ताप्लेजुङको घुन्सामा २०६३ असोज ७ गते तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा हर्क गुरुङ, चन्द्रबहादुर गुरुङलगायत २४  वन क्षेत्रका संरक्षणविद्को निधन भएको सम्झनामा आयोजित कार्यक्रममा उनले स्मारकलाई जैविक विविधताको संरक्षणस्थलका रुपमा विकास गरिनुपर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष लेखबहादुर राईले संरक्षण क्षेत्रका व्यक्तित्वको सम्झनामा निर्माण हुन लागेको घुन्सा स्मृति स्मारकलाई संरक्षण क्षेत्रको केन्द्रका रुपमा विकास गरिनुपर्ने बताए ।
स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, महासचिव त्रिलोचन पौडेल, सहिद तथा घाइते परिवार समन्वय समितिका अध्यक्ष भोजराज गौतम र स्थानीय शिक्षक राममणि पौडेललगायतले जैविक विविधताको संरक्षण केन्द्रका रुपमा घुन्सा स्मृति स्मारकलाई विकास गरिनुपर्ने सुझाव दिए ।
  
स्मारका सदस्यसचिव गोविन्दबहादुर श्रेष्ठले मन्त्री आचार्यलाई स्मारकको अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । मन्त्री आचार्यले स्मारक निर्माणस्थलमा वर र पीपलको युगल वृक्षरोपणसमेत गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।