काठमाडौँ, ६  असोज । तिहारलगत्तै ‘बोक्सीसम्बन्धी (कसुर र सजाय) विधेयक २०७१’ संशोधनसहित व्यवस्थापिका–संसदमा पेस हुने भएको छ । 
महिला, बालबालिका, ज्येष्ठ नागरिक हकहित तथा समाजकल्याण समितिका सभापति रञ्जु झाले बोक्सी शब्द आफैंमा काल्पनिक भएकाले समितिमा संशोधनका लागि छलफल भइरहेको जनाए ।
बोक्सीका नाममा विभिन्न जिल्लाका महिलाले बर्बरपूर्ण यातना भोग्दै आएका छन् । एकल महिला, आर्थिकरुपले विपन्न, कथित तल्लो जाति भनिएकालाई समाजले बोक्सीको आरोप लगाउँदै आएको छ । 
समाजमा हचुवाका भरमा बोक्सीको आरोप लगाई चारपाटा कपाल काटिदिने, यातना, दिने र आरोपित महिलालाई समाजबाट नै बहिष्कार गर्नेजस्ता अमानवीय कार्य हुँदै आएको छ । 
बोक्सीको दोषारोपण गरी महिला वर्गमाथि विभिन्न अमानवीय, शारीरिक यातना तथा पीडा दिने क्रमलाई फैलिनबाट रोक्ने उद्देश्यले संसद्मा उक्त विधेयक पेस भएको थियो । संसद्मा व्यापक छलफलपछि संशोधनका लागि उक्त विधेयक समितिमा पठाइएको हो । 
सभापति झालाई आजै ओमेन एक्ट र सामुदायिक सारथी संस्थाले ‘बोक्सीसम्बन्धी (कसुर र सजाय) विधेयक २०७१’ माथि नागरिक राय सुझावका सन्दर्भमा तयार पारेको प्रतिवेदन आज काठमाडौँमा आयोजित समारोहमा हस्तान्तरण गरिएको थियो । 
समारोहलाई सम्बोधन गर्दै झाले बोक्सी शब्द आफैँमा काल्पनिक भएकाले समितिमा सो नामलाई संशोधन गरी ‘कथित बोक्सी आरोपसम्बन्धी कसुर सजाय ऐन २०७१’ राख्ने सहमति भएको बताए ।
प्रतिवेदन ओमन एक्टका अध्यक्ष सिर्जना अधिकारी र सामुदायिक संस्थाका अध्यक्ष ताराबहादुर क्षेत्रीले हस्तान्तरण गरेका थिए । 
 कार्यक्रममा सभासद् जीवन परियारले समितिमा पेस भएको बोक्सीसम्बन्धी (कसुर र सजाय) विधेयक माथि समितिमा छलफलपछि पुनः व्यवस्थापिका–संसद्मा पठाउने बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।