भक्तपुर, ८ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र उच्च माध्यामिक शिक्षा परिषद्मा छापा मारी पाँच वर्षदेखिको फाइल कब्जामा लिएको छ ।

अख्तियारका प्रहरी नायब उपरीक्षक रविराज खड्काको नेतृत्वमा आएको ३० जनाको टोलीले आज छापा मारेको हो ।

अख्तियारको टोलीले उच्च माध्यामिक शिक्षा परिषद्बाट सम्बन्धन महाशाखा, परीक्षा नियन्त्रण कार्यालय, प्रशासन, लेखालगायतका विभिन्न महाशाखामा छापा मारेर पाँच वर्षदेखिको फाइल कब्जामा लिएको खड्काले बताए ।

त्यसैगरी टोलीले सिटिइभिटीको सम्बन्धन महाशाखा, परीक्षा नियन्त्रण कार्यालय, प्राविधिक महाशाखा, स्तर निर्धारण महाशाखालगायतका विभिन्न ११ वटा शाखाको फाइल कब्जामा लिएको छ ।

सिटिइभिटी र उच्च माध्यामिक शिक्षा परिषद्मा सम्बन्धन दिँदा, स्तर निर्धारण गर्दा आर्थिक चलखेल हुने गरेको, खरिद र निर्माण गर्दा व्यापक अनियमितता हुने गरेको, परीक्षामा समेत चलखेल हुने गरेको पटकपटक उजुरी आएपछि दुवै कार्यालयमा छापा मारेर फाइल कब्जामा लिएको खड्काले जानकारी दिए ।

तत्काललाई विगत पाँच वर्षदेखिको फाइल कब्जामा लिएको र आवश्यकता पर्दा त्योभन्दा अगाडिका फाइलसमेत नियन्त्रणमा लिने उनले बताए । नियन्त्रणमा लिएका फाइलको छानबिन गरिने र दोषी पाइए कारबाही अगाडि बढाउने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।