सिरहा ५ भदौ । इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका–३ हस्पिटल चोकस्थित न्यु दीप होटलका मालिक र यौनधन्दामा संलग्न छ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ४ बजे होटलमा छापा मारेर यौनधन्दामा संलग्न खरचुइया–५ सप्तरी र जनकपुर–९ की एक–एक युवतीलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।
उनले भने, ती दुई युवतीसँग छुट्टाछुट्टै कोठामा यौनधन्दामा संलग्न रहेका सप्तरी मधेपुरा–६ का १९ वर्षीय दीपेन्द्र राम र सोही ठाउँका २३ वर्षीय मो. समदत हुँसैनलाई पनि पक्राउ गरेका छौं ।’
यस्तै यौनधन्दा सञ्चालन गराउने होटल मालिक शिवराम साह र होटलका कुकम्यान धनिराम साहलाई पनि पक्राउ गरिएको निरौलाले जानकारी दिए ।
सगरमाथा अञ्चलकै प्रमुख व्यापारीक बजार लहानमा अहिले यौनधन्दा फस्टाएको छ । होटल तथा लजमा खुलेयाम यौनधन्दा चल्दै आएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको हो ।