इलाम, २ भदौ । सञ्चालन खर्च धान्ने आर्थिक स्रोत नहुँदा इलाममा एक वर्षअघि निर्माण भएको ब्लड बैंक सञ्चालनमा आउन सकेको छैन ।
कर्मचारीलाई तलब तथा उपकरण अभावमा ब्लड बैंक सञ्चालनमा नआएको हो । विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट चन्दा सङ्कलन गरेर भवन बनाइए पनि उपकरण र कर्मचारीलाई खुवाउने तलबको बन्दोबस्त नहुँदा सञ्चालनमा ल्याउन नसकिएको आकस्मिक रक्तसञ्चार सेवाका संयोजक रतन चौधरीले बताए ।
रु २७ लाख खर्चेर सदरमुकामस्थित नारायणस्थानमा आठ आना जग्गामा नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा भवन निर्माण भएको हो । आर्थिक अभावमा ब्लड बैंक चल्न नसकेपछि भवन अहिले बेकामे जस्तो बनेको छ ।
रु ५० लाख सङ्कलन गरी अक्षयकोष खडा गरी त्यसको ब्याजमार्फत ब्लड बैंक सञ्चालन गर्ने योजना बनाइएको थियो । अक्षयकोषमा अहिलेसम्म रु साढे पाँच लाख सङ्कलन भएको छ । अक्षयकोष खडा गर्नका लागि थप दाताको खोजी भइरहेको संयोजक चौधरीले जानकारी दिए ।
“ब्लड बैंक चलाउन यत्रो भवन बनायौँ तर अक्षयकोषलाई आवश्यक रकमै जुटेको छैन”– रेडक्रसका कोषाध्यक्ष विजय कार्कीले भने “रगत सङ्कलन गरेर भण्डारण गर्दै बिरामीको ज्यान बचाउने पवित्र काममा सहयोग गर्ने दाताको खोजीमा छौँ ।” रेडक्रसले भवन निर्माणमा पनि बिङ्गो खेलाएर, दानपेटिका राखेर र चन्दा सङ्कलन गरेर मात्रै रकम जुटाएको थियो ।
ल्याबसहित तीनकोठे पक्की भवनमा केही उपकरण ल्याइसकिएको छ । लक्जम्वर्ग रेडक्रसबाट प्राप्त रेफ्रिजेरेटर, वाटर बाथ र भोल्ट गार्ड ल्याई सकिएको कार्कीले जनाए ।
“आवश्यक अन्य उपकरण जुटाउन जर्मन दूतावास, दातृ निकाय, सङ्घसंस्था र व्यक्तिसँग पहल भइरहेको छ”–कार्कीले भने–“मासिक खर्च धान्न सक्दा ब्लड बैंक सञ्चालनमा कुनै समस्या हुँदैन, आर्थिक स्रोतको मात्रै खाँचो छ ।”
“ब्लड बैंक सञ्चालनका लागि मासिक रु ७०÷८० हजार कर्मचारी र व्यवस्थापन खर्च आवश्यक हुन्छ, अक्षयकोषका लागि रकम जुटाउन लागे पनि अपेक्षा गरेअनुसार जुटेको छैन”–कार्की भन्छन् । ५० शय्याको जिल्ला अस्पताल सञ्चालनमा आउने हो भने ब्लड बैंक तत्काल सञ्चालन गर्नुपर्ने हुन्छ ।
झापाको सुरुङ्गामा रहेको रेडक्रसको करिब डेढ बिघा जमिन बिक्री गरेर रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष खडा गर्ने तयारी पनि सुरु भएको छ ।
सदरमुकामको जिल्ला अस्पताल र सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा बिरामीको चाप बढ्ना साथ रगत अभाव हुने देखिएको छ । ब्लड बैंक चाँडो सञ्चालनका लागि जिल्लावासीले माग गरेका छन् ।