काठमाडौँ, १८ साउन । नेपाल र भारतबीच कण्ठरोग नियन्त्रण कार्यक्रमको निरन्तरता, ऊर्जा र सञ्चारसम्बन्धी तीन विषयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएको हो । कण्ठरोग नियन्त्रण कार्यक्रमको निरन्तरतासम्बन्धी समझदारीपत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र नेपालका लागि भारतीय राजदूत रञ्जित रे, ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र राजूदत रे तथा नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागार्इँ र दूरदर्शनका महानिर्देशक विजयाललक्ष्मी चोपडाले हस्ताक्षर गरे ।
दुई देशका प्रधामन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ऊर्जाजस्ता पूर्वाधारका क्षेत्रमा सामूहिक ढङ्गले अघि बढ्न दुवै पक्षले जोड दिएको बताए ।
उनले दुई मुलुकबीच समाधान गर्न बाँकी रहेका सबै विषयलाई निरूपण गर्ने सहमति भएको र विवादरहित रूपमा आपसी सम्बन्धलाई अझ मजबुत पार्ने प्रतिबद्धता वार्तामा व्यक्त भएको बताउँदै भारतीय सहयोगमा सञ्चालित विकास निर्माणका आयोजनालाई समयमै सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।