कालिका खड्का 

काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा गएको पहिरोमा परी घाइते भएका पीडितहरुले आफूहरुले उपचार नपाएको गुनासो गरेका छन ।

 पहिरोमा परी घाइते भएका माङ्खा गाविसका २७ वर्षीय अमर श्रेष्ठले सरकारले पहिरोमा परेकालाई उद्धारमा ढिलाई गरेको र उद्धार गरिसकेपछि पनि उपचारका लागि ध्यान नदिएको गुनासो गरे ।

उद्धार गरेर बीएनबी अस्पतालमा पु¥याएर उपचार गर्न नपाउँदै टिचिङ अस्पतालमा उपचारका लागि ल्याए पनि टिचिङ्मा उपचारका लागि डाक्टरले वास्तै नगरेको दुःखेसो गर्दै भने “उपचार गर्न डाक्टरले वास्तै गरेनन्, उल्टै राति नै डिक्चार्ज गर्न खोजे ।” त्यहाँ उपचार नभएपछि सो पहिरोका तीन घाइते सिभिल अस्पताल बानेश्वरमा भर्ना भएका छन् ।

सरकारले सो पहिरोमा परी घाइते भएकाहरुको  उपचार खर्च व्यहोर्ने भनिए पनि अस्पतालमा पैसा नहुँदा घाइतेहरुले उपचार गर्न पाएका छैनन ।

भोटेकोसी सानिमा हाइड्रो पावरका चालक अमरले पहिरोमा परेर टाउको र खुट्टामा लागेको गहिरो चोट देखाउँदै भने, “घाउबाट रगत बगेको बग्यै छ, सहन नसक्ने गरी छटपट्टी भाको छ तर डाक्टरले उपचार गरेनन ।” अमरको टाउमा लागेको चोटमा सरसफाई (ड्रेसिङ) गर्नुपर्ने र टाँका लगाउनुपर्ने तर टाउकोमा माटैमाटो देखिन्छ । हात खुट्टामा मात्र पट्टी बाँधिएको छ ।

दुई छोरा श्रीमतीसहित चार परिवार रहेको अमरको सबै परिवार पहिरोमा प¥यो । पहिरोमा परी आफ्नी ३० वर्षीय पत्नी निमु श्रेष्ठ र चार वर्षीय छोरा अभिशेख गुमाए अमरले । अमर र उहाँका ८ वर्षीया छोरा भने पहिरोबाट बच्न सफल भए ।

अमरको ३४ वर्षीय दिदी ऋतु श्रेष्ठ पनि सोही पहिरोमा परी घाइते हुनुभएको छ । उहाँको पनि उपचार सिभिल अस्पतालमा भइरहेको छ । उहाँको ढाडमा गम्भीर चोट लागेको छ ।  १६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बीएनबी अस्पताल, टिचिङ अस्पताल, सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा पर्दाको क्षण सुनाए अमरले
शनिबार राति २:३० देखि ३:०० बजेको थियो । आकाश गर्जिएर चट्टयाङ् परेको आवाज आयो । घर पुरै हल्लिए जस्तो लाग्यो । एकैछिनमा घर भत्किएर मेरो ढाडभरी भयो । संयोगले म घोप्टो परेर सुतेको रहेछु । बल गरेर ढाडमाथि थिचिएको माटो र काठपात हटाउने प्रयास गरे । तर मेरो खुट्टा निकै ठूलो ढुङ्गाले च्यापिएको थियो । त्यो तान्न सकिन । चिच्चाए, कराएँ । बचाउन भनेर गुहारेँ । त्यो आवाज सुनेर बेल्जीयमका टोनी नाम गरेका विदेशी छिमेकी घरमा बसेका थिए । उनले पाँच÷सात भारी जति ढुङ्गा, माटो हटाए ।

खुट्टाको ढुङ्गा धकेलेर निकालि दिए नत्र मेरो खुट्टा काटनुपर्ने हुन्थ्यो । त्यसपछि मैले हतार हतार आफ्नो परिवारको खोजी गरे । मेरो दायाँ खुट्टा पहिरोले थिचिए पनि बायाँ खुट्टाले ठूलो छोरालाई च्यापी राखेको थियो । उसलाई ठूलो चोट नलागोस् भनेर उसलाई निकाले । उसको पनि टाउको र खुट्टामा चोट लागेको छ । बाँचेको छ ठीक हुन्छ । अनि श्रीमती र कान्छो छोराको खोजी गरे । विदेशीले मलाई माटो पन्छाउन सहयोग गरे । श्रीमती र छोरा दुवै भेटियो । बोलाए, तर दुवै मरिसके छन् ।

चार वर्षको कान्छो छोरा । मसँग चलिरहन्थ्यो । खेलिरहन्थ्यो । मरेको भएपनि एक पटक अनुहार हेर । त्यसपछि त्यहाँ बस्न मन लागेन । मलाई दुःखमा छिमेकीले वास्ता गरेनन भनेर कराउँदै आसपासमा हेरे त्यसपछि पो थाहा भयो सबै गाउँ नै पहिरोले लगेछ । सबैलाई यस्तै पीडा भएछ भनेर चित्त बुझाएँ । छोरालाई बचाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि पहिरोबाट विस्तारै निस्किने प्रयास गरे । जहाँ टेक्यो, त्यही भाँसिने, आँट गरेर बल्ल बल्ल पहिरो बाहिर निस्किएँ । बाहिर निस्कदा उज्यालो पनि भयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।