काठमाडौँ, १५ साउन । नेपाल आयल निगमले दोहोरो मूल्य कायम गरी ग्यास बिक्री गर्दा पारदर्शी एवम् सरल कार्यविधि बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
मिडिया इन्टरनेसनलले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले व्यावसायिक तथा घरायसी प्रयोगका लागि छुट्टाछुट्टै मूल्य कायम गर्नका लागि निलो र रातो रङ्गको ग्यास सिलिन्डर प्रयोगमा ल्याउँदा उपयुक्त विधि अपनाउनुपर्ने बताएका हुन् ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णले दुई रङ्गको सिलिन्डर प्रयोग गर्दा उपयुक्त कार्यविधि आवश्यक भएकाले त्यस्तो कार्यविधि बनाउँदा सबैपक्षसँग छलफल गर्नुपर्ने बताए ।
निगमको घाटालाई न्यूनीकरणका गर्न र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न संसदीय समितिले दिएको सुझावलाई कार्यान्वयन गर्न निगमलाई उनले सुझाव दिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले दुई रङको सिलिन्डर चाँडो प्रयोगमा ल्याइने उल्लेख गर्दै व्यावसायिक प्रयोगमा जाने ३० प्रतिशत ग्यासलाई परल मूल्यमा बिक्री गरिने कार्यविधिलाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले सबैको सहयोगबाट निगमको मासिक रु ८८ करोडको घाटालाई न्यूनीकरण गर्न सकिने भएकाले उक्त कार्यमा सहयोग गर्न सबै सरोकारवालाई आग्रह गरे ।
अनेरास्ववियु(क्रन्तिकारी)का अध्यक्ष हिमाल शर्माले दुई रङको सिलिन्डर अनिवार्यरुपमा प्रयोगमा ल्याउँदा राज्यका लागि फाइदा हुने भएकाले त्यसलाई पारदर्शी बनाउनका लागि छुट्टै डिलरको व्यवस्था गर्न सकिने धारणा राखे ।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले दोहोरो रङ्गको सिलिन्डर प्रयोगमा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै त्यसलाई चाडो प्रयोगमा ल्याउन निगमसँग आग्रह गरे ।