तनहुँका १२ वटा विद्यालय गाभिए

साउन ८ । गत आर्थिक वर्ष २०७०/०७१ मा न्यून विद्यार्थी सङ्ख्या भएका तनहुँका १२ वटा विद्यालय अन्य विद्यालयमा गाभिएका छन् ।

सतिस्वाँरा–२ को शिव प्रावि, रूपाकोटको बालज्योति प्रावि, जामुने–३ को लक्ष्मी प्रावि, तनहुँसुर–७ को भुवानी प्रावि र सोही गाविस वडा नं ६ को महादेव प्राविलाई अन्य विद्यालयमा गाभिएकोे जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

त्यस्तै गाभिने अन्य विद्यालयहरूमा मनपाङ–३ को बालदेवी प्रावि, घाँसीकुवा–३ को कोटकालिका प्रावि, बन्दीपुर–९ को बालकन्या प्रावि, माझकोट–४ को पोखरी भञ्ज्याङ प्रावि, मिलुङको गणेश प्रावि, बरभञ्ज्याङको प्रगति सदन प्रावि र ब्यास नगरपालिकाको बुद्ध दाहाल प्रावि रहेका छन् ।

विद्यार्थी सङ्ख्या न्यून भई विद्यालय सञ्चालन गर्न नसक्ने भनी विद्यालय व्यवस्थापन समितिबाट निर्णय भई आएका ती विद्यालयलाई नजिकको विद्यालयमा गाभिएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले बताए ।

दस जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयले स्वतःस्फूर्त रूपमा विद्यालय चलाउन नसक्ने जनाउँदै विद्यालय व्यवस्थापन समितिबाट ल्याएको निर्णयलाई आधार मानेर ती विद्यालय बन्द गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा तनहुँमा विद्यार्थी अभावले १० वटा विद्यालय बन्द भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।