काठमाडौं ७ साउन । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिएका छन् ।
  मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रमलाई अगाडि बढाइएको उनले उल्लेख गरे ।
  सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको छ । कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । 
साउनमा भक्तजनको विशेष भिड लाग्ने गरेकाले पनि सरसफाइ र प्लास्टिक निषेधलाई अभियानका रुपमा अगाडि बढाउन लागिएको सदस्य सचिव टण्डनले बताए ।
  कोषको प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले कोरल शुज प्रालिले दुई हजार थान कपडाको झोला उपलब्ध गराएको निर्देशक युवराज ओडारीले जानकारी दिए । भक्तजनको जुत्ता राख्नका लागि उपलब्ध गराइएको झोला ६ महिनासम्मका लागि पुग्ने बताइएको छ ।
 एक दशकको अन्तरालमा नेपालको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।