काठमाडौँ, ६ साउन । बत्तीसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरको ज्वागलस्थित संयुक्त राष्ट्रसङ्घ उद्यान युएनपार्कमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल प्रजातन्त्रवादी इञ्जिनियर्स एसोसिएसन र युएनपार्क विकास समितिले आयोजना गरेको कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्का, नेपाली काँग्रेस ललितपुरका सभासद् मदन अमात्यलगायतले वृक्षरोपण गरेका थिए ।
सो अवसरमा मन्त्री खड्काले लोकतन्त्रका प्रणेता, समाजवादका विचारक बिपीको स्मृतिमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गर्व लागेको बताए ।
उनले युएन उद्यानको विकाससम्बन्धी बृहत् योजना ल्याउन व्यवस्थापनलाई आग्रह गर्दै सो योजना कार्यान्यवनका लागि आफूले पूर्णरूपमा सहयोग गर्ने विश्वास दिलाए ।
उद्यान विकास समितिका कार्यकारी निर्देशक कृष्णदेव यादवले ज्वागल क्षेत्रमा बालबालिका उद्यान, कालमोचनघाट क्षेत्रमा पुरातात्विक उद्यानलगायतका योजना आफूहरूले बनाइरहेको जानकारी दिए ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । सोही दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी बिपी स्मृति दिवस मनाइँदैछ ।