काठमाडौँ, ४ साउन । त्रिचन्द्र कलेज परिसरमा रहेको बिपी पुस्तकालयमा आज अपराह्न आगलागी भएको छ ।
दिउँसो १:१५ बजे लागेको आगो चारवटा दमकल र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागीबाट पुस्तकालयमा रहेका सबै कागजात तथा फर्निचर जलेर नस्ट भएका छन् ।
उक्त घटनाबारे महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक राजकुमार सिलवालले घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको सञ्चारकर्मीलाई जानकारी दिए ।
“एउटा व्यक्तिले कुटाइ खाएको छ, उसमाथि खुकुरी प्रहार भएको छ, क्याम्पसकै विद्यार्थी हो, कसले किन हान्यो भन्ने टुङ्गो लागेको छैन, आक्रमणपछि आगलागी भएको छ । घटनाको अनुसन्धान भइरहेको छ”– उनले भने ।
 आगलागीको स्वतन्त्र पुष्टि नभए पनि त्रिचन्द्र कलेज, अनेरास्ववियुले नेविसङ्घले आक्रमणपछि आगजनी गरेको आरोप लगाएको छ । अनेरास्ववियुका सचिव सङ्गम अर्यालले घटनामा नेविसङ्घका विद्यार्थीको संलग्नता रहेको दाबी गरे ।
उनका अनुसार क्याम्पस कमिटी सदस्य प्रेम केसीमाथि दुईजनाको समूहले खुकुरी प्रहार गरेको छ । टाउको र हातमा चोट लागेका घाइते केसीको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । 
एक प्रत्यक्षदर्शी क्याम्पसका सुरक्षा गार्डका अनुसार क्याम्पसको पुस्तकालयमा अध्ययन गरिरहेको अवस्थामा दुईजना हतियार (खुकुरी) सहित प्रवेश गरेका व्यक्तिले केसीमाथि एक्कासि खुकुरी प्रहार गरेका थिए । त्यहाँ अन्य विद्यार्थी र केही प्राध्यापक पनि रहेका थिए ।
बिहान ११ः१५ मा खुकुरी प्रहारको घटनापछि दिउँसो १:१५ मा बिपी पुस्तकालयमा आगजनी भएको हो । घटनापछि आक्रोशित अनेरास्ववियु समर्थित विद्यार्थीले घण्टाघरअगाडिको सडकमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । तिनै आक्रोशित विद्यार्थीबाटै आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 
तथापि अनेरास्ववियुले त्यसको अस्वीकार गरेको छ । घटनास्थलबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेको छ भने सिसी क्यामेराको फुटेज पनि लिएको जनाइएको छ । २०५६ सालमा स्थापना भएको बिपी पुस्तकालय २०५८ सालमा पुनः निर्माण गरिएको थियो । 
यसैबीच नेपाल विद्यार्थी सङ्घ, त्रिचन्द्र बहुमुखी क्याम्पस इकाईले आज भएको उक्त घटनामा नेविसङ्घको कुनै संलग्नता नभएको जनाएको छ ।
नेविसङघले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा सङ्घको नाम मुछ्नु अत्यन्तै गैरजिम्मेवार भएको जनाएको छ ।
नेविसङ्घले घटनाको छानबिन र दोषीमाथि कारबाहीको सट्टा घटनाको ढाकछोप गर्न  पुस्तकालयमा आगजनी र स्ववियु कार्यालयमा  तोडफोड गरेको भन्दै त्यसको भत्र्सना र दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।