काठमाडौँ, ३ साउन । अर्थमन्त्री डा रामशरण महतले अवरुद्ध क्यासिनो तत्काल सञ्चालनमा आउने बताएका छन् ।

युएनआईको चौथो सम्मेलनको राजधानीमा उद्घाटन गर्दै मन्त्री महतले कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गरी टुङ्गोमा पुग्ने जानकारी दिए ।

युएनआई श्रमिकहरूको सबैभन्दा ठूलो संस्था हो । हाल विश्वका १५० राष्ट्रका ९०० टे«ड युनियन यस संस्थामा आबद्ध छन् ।

गत वर्षदेखि क्यासिनो सञ्चालकहरूले पुरानो (कर) बक्यौता र उचित कर नतिरेको भन्दै सरकारले क्यासिनो बन्द गरेको छ ।

सरकारले क्यासिनो सञ्चालकहरूसँग करोडौँ रुपैयाँ (पुरानो कर) असुल गर्न बाँकी छ । उक्त कर १० भन्दा बढी होटल व्यवसायीहरूसँग बाँकी रहन गएको हो । होटल व्यवसायीले क्यासिनो सञ्चालन गरेबापत कर बढी भएको भन्दै कर छुट हुनुपर्ने बताउँदै आएका छन् ।

करिब एक वर्षसम्म क्यासिनो सञ्चालन नभएका कारण १० हजारभन्दा बढी होटल मजदुरको काम प्रत्यक्ष रूपमा खोसिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।