कञ्चनपुर, ३ साउन । भारतमा मजदुरी गरी घर फर्किंदै गरेका सुर्खेत लेकपर्सा गाविस–८ का जीतबहादुर कटुवाल भारतीय सहर पिथौरागढमा लुटिका छन् । लुटेराहरूले उनलाई नशालु पदार्थ मिसाइएको जुस खुवाएर बेहोस बनाई हिजो साँझ लुटपाट गरेका हुन् ।

सिमलाबाट बसमार्फत घर फर्कंदै गरेका बेला सँगै बसेका अपरिचित व्यक्तिले दिएको जुस पिउँदा उनी बेहोस भएका थिए ।

बेहोस भएका कटुवालले पाँच महिना मजदुरी गरी कमाएको भारु २० हजार लुटेराले लुटेर लगेका छन् । पिथौरागढ बसपार्कमा बेहोस अवस्थमा रहेका कटुवाललाई भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गड्डाचौकीको जिम्मा लगाइएको थियो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले कटुवालाई उपचारका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको बताए । अस्पताल भर्नापछि आज उनी होसमा आएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।