काठमाडौँ, २८ असार । नेकपा (एमाले)को नवौँ महाधिवेशनको नयाँ निर्वाचनको मतगणना भोलि (आइतबार) बिहान मात्रै हुने भएको छ ।

गएराति सम्पन्न भएको मतदान आज अपराह्न प्रारम्भ गर्ने तयारी भए पनि अध्यक्षका प्रत्यासीहरू माधवकुमार नेपाल र केपी शर्मा ओली समूहका प्रतिनिधि र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीबीच मगणनाको विधि, आचारसंहिता र स्थानबारे छलफल लम्बिएका कारण आज गणना हुन नसकेको हो ।

दुवै पक्षको समझदारीमा आज साँझ ५ बजेबाट रङ्गशालामा सुरु गर्ने तयारी भए पनि राति गणना नगर्ने पछिल्लो सहमतिका कारण भोलि बिहान ८ बजेदेखि सोही स्थानमा गणना हुने एमालेका निवर्तमान सचिव शङ्कर पोखरेलले पत्रकारलाई जानकारी दिए ।

निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले रातिको अवधिमा गणना गर्दा अलमल र अनिँदो हुने भएकाले बिहान र दिउँसो मात्रै गणना गर्ने सहमति भएको बताए ।

त्रिपुरेश्वरस्थित रङ्गशाला बाहिर प्रतिनिधि र कार्यकर्ताको उत्साहका साथ मत परिणामको प्रतिक्षा गरेको भए पनि अन्ततः उनीहरू फर्केका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।