काठमाडौँ, २४ असार । अर्थमन्त्री डा रामशरण महतले सभासद्लाई रु पाँच करोड दिने भन्ने विषय प्रचारमा आएजस्तो सत्य नभएको बताएका छन् ।
एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)ले आज उनकै कार्यकक्षमा बुझाएको चौधबुँदे ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा महतले निर्वाचन क्षेत्रको विकासका लागि केही शीर्षकमा बजेटको व्यवस्था गरिए पनि सभासद्लाई सोझै रकम दिने पक्षमा आफू नभएको बताए ।
सरकारले सांसद् विकास कोषको नाममा प्रदान गर्दै आएको रु १० लाखको समेत सदुपयोग हुन नसकेको चर्चा भइरहेको बेला थप रकम प्रदान गरिए त्यसबाट थप विकृति उत्पन्न हुने भएकाले आफू सचेत रहेकोसमेत अर्थमन्त्री डा महतले बताउनुभएको वाइसिएलका उपत्यका संयोजक रामप्रसाद सापकोटाले राससलाई जानकारी दिए ।
वाइसिएलले मुलुकमै रोजगारीको अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्नुपर्ने, शैक्षिक योग्यताको आधारमा सहुलियत व्याजदरमा ऋण दिनुपर्ने, सरकारी निकायमा कार्यरत कनिष्ठ कर्मचारीको तलबको आधारमा पचास प्रतिशत बेरोजगारी भत्ता दिनुपर्ने र राज्यकोषको रकम दुरुपयोग भइरहेको भन्दै त्यसमा रोक लगाउनुपर्नेलगायत माग ज्ञापनपत्रमा समेटेको छ ।
वाइसिएलका अध्यक्ष एवम् सभासद् गणेशमान पुनको नेतृत्वमा ज्ञापनपत्र बुझाउन पुगेको टोलीले जनमुखी र परिवर्तनको प्रक्रियालाई संस्थागत गर्ने खालको बजेट ल्याउन अर्थमन्त्री डा महतलाई आग्रह गरेको थियो ।
वाइसिएलको आग्रहलाई सकारात्मक रुपमा लिँदै अर्थमन्त्रीले आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउने युवामैत्री बजेट ल्याउन आफू क्रियाशील रहेको विश्वास दिलाएका थिए ।
वाइसिएलले केही दिनअघि नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठकले सभासद्लाई रु पाँच करोड उपलब्ध गराउने विषयमा सकारात्मक निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेको थियो ।
“हामीले राज्यकोषको दुरुपयोग नहोस् भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौँ, उहाँले त्यसो हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ” उपत्यका संयोजक सापकोटाले भने । रासस