काठमाडौँ, २४ असार । नेकपा (एमाले)को नवौंँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
आजको बन्दसत्रमा समूहगत प्रस्तुतिपछि अध्यक्ष खनालले प्रतिनिधिबाट उठेका प्रश्न र सुझावमा जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई दिनुभएको जानकारीअनुसार अध्यक्ष खनालले प्रतिवेदनमाथि भएका छलफल र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै मुलुकलाई प्रारम्भिक पुँजीवादको अवस्थाबाट समाजवादतर्फ उन्मुख गराउनुपर्ने बताए ।
अध्यक्ष खनालले गुटबन्दीका कारण पाँच प्रतिशत मनोनयन हुन नसकेको र आयोजनाका क्रममा केही कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन ध्यान जाने विश्वास व्यक्त गरे ।
अध्यक्ष खनालले पार्टीमा नेता मात्रै हाबी भए भन्ने गुनासोका सम्बन्धमा केही हदसम्म त्यस्तो भए पनि अब पोलिटब्युरो र केन्द्रीय कमिटीको भूमिका बढाएर संस्थागत निर्णयको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले राजनीतिक सिद्धान्तका रुपमा माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई सँगसँगै जोडेर बुझ्न आग्रह गरे । उनले अहिले पनि पुँजीपति र मजदुर वर्गबीचको सङ्घर्ष कायम रहेको तर सामन्तवादको भने अवशेष मात्र बाँकी रहेको स्पष्ट पारे ।