खोटाङ, २२ असार । कर्मचारीको समेत मिलेमतोमा विद्यालयको जग्गा किनबेच भएपछि बाक्सिलास्थित पृथ्वी उच्च माविले अदालतमा दायर गरेको मुद्दामा सो विद्यालय हारेको छ ।

गाविस सचिव, मालपोत कर्मचारी र विद्यालयकै शिक्षकको मिलेमतोमा जग्गा किनबेच भएपछि २०६९ फागुन–३० गते अदालतमा परेको मुद्दामा जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले वादीको तर्फबाट हकदाबी नपुगेको ठहर गर्दै लिखत बदर गरेपछि विद्यालयले मुद्दा हारेको हो ।

अदालतका स्रेस्तेदार भीष्म भट्टराईका अनुसार लिखत बदरमा १५ जनालाई र जालसाजीका एक गरी १६ मुद्दाको किनारा लागेको छ । भट्टराईका अनुसार असार–२० गते शुक्रबार यस्तो फैसला भएको हो ।

विद्यालयकी प्रधानाध्यापक जानुका राईका अनुसार गाविस सचिव होमनाथ खनालको सिफारिसमा सुङ्देल–४ की ५५ वर्षीया ध्यानसरी राई र बाक्सिला–७ की पञ्चऋषि राईको नाममा छुट्टाछुट्टै दर्ता गराएर बिक्रीसमेत गरिएकाले अदालतमा मुद्दा दायर गरिएको थियो । गाविस सचिव खनालले २०६५ असार ४ गते पञ्चऋषिलाई र २०६६ असार ३ गते ध्यानसरी राईलाई आफ्नो नाममा विद्यालयको जग्गा दर्ता गराउन सिफारिस गरेको प्रधानाध्यापक राईको भनाइ छ ।

जग्गा दर्ताका लागि विद्यालयकै शिक्षक छत्रकुमार राई र रणबहादुर राईले सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका छन् । त्यही सिफारिसको आधारमा २०६८ असार १० गते मालपोत अधिकृत युवराज आचार्यको निर्णय नं ३७÷४०÷२०६८ को आधारमा कित्ता नं ४३४ को दुई रोपनी तीन आना तीन पैसा दुई दाममध्ये एक रोपनी ११ आना एक पैसा एक दाम क्षेत्रफल जग्गा २०६८ असार १० गते ध्यानसरीको नाममा दर्ता गरिएको हो ।

कित्ता नं ४०६ को २५ रोपनी नौ आना एक दाममध्ये पूर्वतर्फको कित्ताकाट गरी कित्ता नम्बर १७२३ कायम गरी पाँच रोपनी पाँच आना दुई पैसा एक दाम पञ्चऋषिको नाममा दर्ता गरिएको थियो । दोर्पाचिउरीडाँडा–२ घर भएका गाविस सचिव खनालले पञ्चऋषिबाट २०६८ कात्तिक २ गते पाँच आना दुई पैसा क्षेत्रफलको जग्गा सित्तैमा लिएर रु १० हजारमा किनेको राजस्व बुझाएका छन् ।

खनालले आफ्नै भाइ युवराज खनाललाई दुई आना जग्गा रु दुई लाखमा २०६८ मङ्सिर २७ मा किनाएको खुलासा भएको छ । त्यस्तै दोर्पाचिउरीडाँडा–५ की पवित्रा ढकाललाई रु दुई लाखमा दुई आनामा किनाएका छन् ।

पञ्चऋषिबाटै बाक्सिला–८ का राजकुमार राईले छ आना जग्गा २०६८ कात्तिक २ गते रु १० हजारमा लिएका छन् । त्यसैगरी बाक्सिला–७ का चन्द्रकुमार राईले पनि तीन आनाका लागि रु दुई लाख तिरेका छन् । उनले २०६८ मङ्सिर २७ गते पास लिएको अदालतमा पेस भएको कागजातमा उल्लेख छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।