दिप बहादुर घर्ति
जाजरकोट १८ असार । सम्पति विवरण नबुझाउने जाजरकोटका १ सय १२ शिक्षक जरिवानामा परेका छन् । गत बर्ष सम्पति विवरण नबुझाउने ति शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कारवाही स्वरुप पहिलो पटकलाई प्रति शिक्षक ५ हजारको दरले जिल्ला शिक्षा कार्यालयले ५ लाख ६० हजार  रुपैया जरिवानावाट  जम्मा गरेको छ ।
सरकारले गत बर्ष देखी सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले पनि प्रत्येक बर्ष आफ्नो सम्पति विवरण बुझाउन निर्देशन दिएको थियो । तर सरकारी निर्देशन अनुसार सम्पति विवरण बुझाउन अटेर गर्ने शिक्षकको तलबबाट उक्त रकम असुल गरिएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लाका ६ सय १३ स्थायी शिक्षक मध्य गत आर्थिक बर्षको अन्त्य सम्म पनि १ सय १२ जना शिक्षकले सम्पति विवरण बुझाएका थिएनन् । ति शिक्षकको चालु आवको तेस्रो चौमासिक तलबबाट ५ लाख ६० हजार रुपैया कट्टी गरी सरकारी राजश्वमा जम्मा गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी यज्ञश्वर खत्रीले बताए । उनका अनुसार विवरण नबुझाउनेमा  ९१ जना प्रावि तह र २१ जना मावि तथा निमावि तहका शिक्षक छन् ।
शुरुमा भएकोले कतिपयले नबुझाउँदा पनि के होला र भन्ने सोचेको , केहीले थाह नपाएर , केहीले भने अटेर गरेर सम्पति विवरण नबुझाएको हुन सक्ने निमित्त जिशिअ खत्रीको भनाई छ । उनले यसपटक  धेरै शिक्षकले जरिवाना तिरेकोले अव देखी सवै शिक्षकले सम्पति विवरण बुझाउने विश्वास ब्यक्त गरे ।
सरकारले आर्थिक पारदर्शिता कायम गर्न र भष्टाचार न्युनिकरण गर्न सबै सरकारी कर्मचारी र सार्बजनिक पद धारण गर्ने ब्यक्तिले सम्पति विवरण बुझाउनु पर्ने प्रावधान राखेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।