जाजरकोट १७ असार । जिल्ला वन कार्यालयले खलंगा र पुन्मा गाविसको सिमानामा रहेको इभर ढुङ्गे खानी गत माघ महिना देखि बन्द गरेपछि ढुङ्गा कार्ने मजदुरहरु मर्कामा परेका छन । कामदारहरुको आम्दानी श्रोत बन्द भएपछि मर्कामा परेका हुन ।
पुन्मा गाविसको वडा नं. ३ र ४ र खलंगा गाविसको वडा नं. ४ का समुदाय विच २ हजार ६५ साल देखि सिमा विवाद भएपछि उक्त ढुङ्गे खानी रहेको वन क्षेत्रलाई सामुदायीक वन क्षेत्र भन्दा वाहीर रहेको सरकारी वन क्षेत्र भित्र पर्ने भन्दै जाजरकोट जिल्ला वन कार्यालयले गत माघ महिना देखि घर छाउने ढुङ्गा खानीवाट कार्न रोक लगाएको छ ।
पहाडी जिल्लाका दुर्गम गाउँ घरका प्राय घरहरु ढुङ्गाले छाउने गरिन्छ । आर्थिक अवस्थाले कम्जोर मानिसहरुले त झन घर खरले छाउने गरेका छन । बर्षेनी बढ्दो जनसंख्याका अधारमा घर संख्या पनि तिव्ररुपमा वढीरहेका बेला घर नजिकैको ढुङ्गे खानी बन्द भएपछि त्यस क्षेत्रका समुदाय घर छाउने ढुङ्गा ल्याउनलार्ई अब धेरै टाडा अर्को गाउँमा जानु पर्ने भएको छ ।
ढुङ्गे खानीमा काम गरेर आफ्नो मजदुरीमा जीवन निर्वाह गर्दै आएका खानीका कामदारहरु अर्को बैकल्पीक काम नपाएर कामको खोजी गरिरहेका छन । विगत धेरै बर्ष पहिले देखि ढुङ्गा कार्दै आएको खानीमा कामदारहरुले १०÷१० जनाको ग्रुप वनाएर ढुङ्गा कार्ने काम गर्दै आएको कामदार पुष्पलाल रोकाय वताउछन । कारी सकेको ढुङ्गालाई प्रति ढुङ्गा खानीवाटै ३० रुपैया को दरले विक्री गरिन्थ्यो पुष्पलाल स्मरण गर्दै भन्छन १० जनाको ग्रुपमा एक दिनमा १ हजार पिस ढुङ्गा काथ्र्यौ । खानीमा काम गर्दा एक जनाको प्रति दिन ४ सय देखि १५ सय सम्मको दैनिक ज्याला बसेको रोकायको कथन छ ।
ढुङ्गा कार्ने काम खानीमा बाह्रै महिना गरिएता पनि ढुङ्गाको कारोवार बर्षमा ६ महिना मात्र चल्दै आएको थियो । खानीमा काम गर्दा कामदारहरुको जीवन असुक्षित जस्तो देखिएता पनि खानी बन्द गरिए पछि जीवन धान्न झनै गाह्रो भएपछि अझ असुरक्षित जीवन विताउनु परेको आफुहरुलाई महसुस भैराखेको खानीका कामदारहरु वताउछन । उक्त खानीमा काम गरेर जीवन निर्वाह गर्नेको संख्या पुन्मा गाविसको वडानं. ३ र ४ वाट मात्रै ५० जना भन्दा माथी रहेको छ ।
Comments