सप्तरी, १४ असार । राजविराजस्थित रक्तसञ्चार केन्द्रमा केही दिनयता रगतको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको परिसरमा रहेको केन्द्रमा रगतको समस्या हुँदा अन्यत्रबाट रगतको व्यवस्था गरेर बिरामीको उपचार गर्नुपरिरहेको बिरामीका आफन्तले बताएका छन् ।
केन्द्रमा ओ पोजेटिभ, एबी पोजेटिभ र ए पोजेटिभ समूहको रगतको अभाव रहेको जानकारी केन्द्रका प्रमुख नवीनकुमार झाले बताए ।
बिरामीका आफन्त रगतका लागि केन्द्र पुग्ने गरे पनि रगत नरहेको भन्दै फर्काइने गरेकाले समयमा उपचार गर्न समस्या भइरहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका आकष्मिक कक्षका रामकुमार दियालीले जानकारी दिए । दुई महिनादेखि बढेको अत्याधिक गर्मीका कारण बिरामी बढेको समयमा रगतको अभाव भएका कारण बिरामीको उपचारमा थप समस्या भएको उनको भनाइ थियो ।