दिप बहादुर घर्ति
जाजरकोट १२ असार ।  सदरमुकाम खलंगामा जिल्ला मालपोत कार्यालयले मुक्तहलियालाई ३ महिने आधारभुत विद्युत जडान तालिम दिन लागि रहेको छ । सिप विकासका लागि  मुक्तहलियालाई आधारभुत विद्युत जडान तालिम दिन लागिएको हो ।

आधारभुत विद्युत जडान तालिममा जिल्लाका १५ वटा गाविसवाट १५ जना हलियालाई सहभागी गराईएको छ । असारको पहिलो हप्ता देखि सन्चालन भएको विद्युत जडान तालिम असोजको पहिलो हप्ता सम्म पुरा गरिने जिल्ला मालपोत कार्यालयका प्रमुख जनक बहादुर हमालले वताए । नेपाल सरकारको बार्षिक कार्यक्रम अनुसारनै उक्त तालिममा ३ लाख ३५ हजार रुपैया खर्च गरिने प्रमुख हमालले उल्लेख गरे ।

उक्त विद्युत जडान तालिममा सहभागिहरुको छनौट प्रक्रियामा कुनौ मापदण्ड नरहेको जिल्ला मालपोत कार्यालयका एक कर्मचारीले वताए । पूर्व पश्चिम दुवै क्षेत्रका मुक्तहलियाहरुमा जस्ले गाउँ विकास समितिको सिफारिस ल्याएर आयो त्यसैलाई तालिममा सहभागि गरायौं कर्मचारीले भने ।

जिल्लामा मुक्तहलियाको पहिचान झण्डै ३÷४ बर्ष पहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र पत्रकारको संयुक्त पहलमा गरिएको थियो । पहिचान भै जिल्लामा प्रमाणिकरण भएका मुक्तहलियाहरु घर, जग्गा दुवै नभएका “क” वर्ग मा पर्ने ६२ घर, घर भएका तर जग्गा नभएका “ख”  वर्ग मा पर्ने १० घर, जग्गा भएका तर घर नभएका “ग” वर्ग मा पर्ने १० घर र घर, जग्गा दुवै भएका “घ” वर्ग मा पर्ने ८३ घर गरि जम्मा १ सय ६५ घर संख्या रहेको छ ।

पमाणिकरण भैसकेका मुक्तहलियाहरुलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले संयुक्त परिचय पत्र दिदै आएको छ । हाल जिल्लामा मुक्तहलिया परिचय पत्र १ सय २७ जनाको  बनि सकेको भएता पनि १ सय १६ जनाले मात्र परिचय पत्र बुझेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।