निगमको व्यावसायिक उडान सुरु

काठमाडौँ, ११ असार  । चीनबाट अनुदानमा ल्याइएको एमएम ६० हवाइजहाजले आजदेखि आफ्नो व्यावसायिक उडान सुरु गरेको छ ।

नेपाल वायु सेवा निगमको सो विमानले आजदेखि काठमाडौँ–विराटनगर, विराटनगर–काठमाडौँको उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

बुधवार नै निगमले भद्रपुर उडान भर्ने सूची प्रकाशन गरेको भएपनि प्रोभिङ फ्लाइट (विमानस्थल र विमानको उपयुक्तताको अध्ययन) गर्न बाँकी भएकाले आज सो उडान भर्न नपाएको प्रवक्ता शर्माले बताए ।

अन्य विमान कम्पनीको तुलनामा हवाई भाडादर सस्तो रहेको यो निगमले पहिलो चरणमा यात्रुको बढी चाप हुने विमानस्थलहरू विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा सेवा सञ्चालनमा ल्याएको छ ।

व्यावसायिक उडान सुरु गरेको एमएम ६० जहाज चिनियाँ चालकले उडाउने र नेपाली चालकले भने अध्ययन गर्ने प्रवक्ता शर्माले बताए ।

करिब एक सय घण्टा प्रशिक्षार्थीको रूपमा नेपाली चालक सो जहाजमा उडेपछि मात्रै पूर्णरूपमा उडानका लागि योग्य हुने उनले बताए ।

पहिलो चरणमा हप्तामा १५ उडान गर्ने योजनाअन्तर्गत आजदेखि व्यावसायिक उडान सुरु गरेको निगमले आगामी दिनमा आफ्नो सेवा थप गर्दै लैजाने भएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।