प्रधानमन्त्री कोइरालाको शृङ्खलाबद्ध स्वास्थ्य परीक्षण

काठमाडौं, ७ असार । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा हिजो पनि शृङ्खलाबद्ध स्वास्थ्य परीक्षण गरिएको छ ।

बिहान सबेरैदेखि गरिएको स्वास्थ्य परीक्षण अपराह्न अबेरसम्म जारी रहेको र त्यस क्रममा छाती र फोक्सोको पनि परीक्षण गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाका साथ रहेका निजी चिकित्सक डा कविरनाथ योगीका अनुसार गरिएका सबै परीक्षणले प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै किसिमका अस्वभाविक अवस्था देखाएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूका अनुसार सम्पूर्ण परीक्षणको पूर्ण नतिजा आगामी साताको अन्त्यतिरमात्र आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा गत सोमबार अमेरिका प्रस्थान गरेका थिए ।

उनले सोही सेन्टरमा विगत केही वर्षदेखि नियमितरूपमा उपचार गराइरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।