परासी, ४ असार । भारतीय पक्षले नवलपरासीको सुस्तास्थित रामनगर टापु अतिक्रमण गर्न प्रयास गरेपछि देखिएको समस्या तत्कालका लागि समाधान भएको छ ।

सुस्तावासीले जोतभोग गर्दै आएको टापु क्षेत्रलाई भारतीय पक्षले आधाआधा गरी जोतभोग गर्न पाउनुपर्ने माग राखेपछि समस्या आएको थियो तर सुस्तावासी र भारतीय स्थानीय साथै दुवै क्षेत्रका सुरक्षा निकायका प्रतिनिधिबीच सो जग्ग्गा सुस्तावासीले नै जोतभोग गर्ने सहमति भएपछि  तत्कालका लागि समस्या समाधान भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मौनालीले जानकारी दिए ।

भारतीय पक्षले बखेडा झिकेर टापु क्षेत्रमा आफूहरुले पनि जोतभोग गर्नु पाउनुपर्ने दावा गरेपछि नेपालीले आफूहरुले जोतभोग गर्दै आएको जग्गा भारतीय पक्षलाई नदिने अडान कायम राखेका थिए ।

सहमतिअनुसार सुस्तावासीले जोतभोग गर्दै आएको जग्गा सुस्तावासीले नै जोतभाग गर्ने  अन्य विषयमा जो जस्तो अवस्थामा छ पुरानो अवस्थामा  दुवै पक्ष रहने सहमति भएको प्रजिअ मौनालीले उल्लेख गरे ।

विगत पाँच वर्षदेखि सुस्तावासीले त्यो टापुमा खेती गर्दै आएका थिए । तर सुस्ता र भारतको विहारको सीमाङ्कन नभएको हुनाले भारतीय पक्षले त्यो टापु हाम्रो भूमि हो भनेर अतिक्रमण गर्न खोजेपछि आफूहरु आतङ्कित बनेको  स्थानीयवासीले बताएका छन् ।

भारतीय एसएसबीले पक्लिहवाको ठाडीदेखि रामनगर हुँदै आउने ५ नम्बर ठोकरको टापुलाई भारतीय भूभाग भन्दै विवाद निकालेर  सुस्तावासीलाई धपाउने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए ।

प्रत्येक वर्षको जेठ, असार महिनामा खेती गर्ने बेलामा त्यो टापुसमेत सुस्ताको करिब सात हजार बिघा जग्गा भारतीयले अतिक्रमण गर्न खोज्दै आएका स्थानीयवासीले बताएका छन् ।

वि.स. २०६२ सालदेखि नै अहिलेसम्म सुस्ताका २१ हजार बिघा जग्गा भारतीय पक्षबाट अतिक्रमण  भइसकेको छ । सुस्तावासीलाई जोतभोगबाट रोक लगाएको सात हजार बिघा जग्गा पटकपटक भारतीय पक्षबाट अतिक्रमण गर्ने  प्रयास गरिँदै आइरहेको छ ।

नेपाली भूमि रहेको सात हजार बिघा जग्गा अहिले भारतीय पक्षले आधाआधा जोतभोग गर्न दाबी गरेकोमा सुस्तावासीले हामी हाम्रो जग्गा अरुलाई उपभोग गर्न दिन्नम भन्दै विरोध गरेको अध्यक्ष गुरुङले बताए ।

त्यस क्षेत्रको सीमाको सीमाङ्कन गर्न, जग्गाको नापी जग्गादाताको लालपुर्जासमेत सरकारले बनाई दिन माग गरेका छन् । हाम्रा पुर्खादेखि नै उपभोग गर्दै आएका जग्गा भने नेपाल सरकारले लालपुर्जा नदिँदा भारतीय पक्षबाट अतिक्रमण हुँदै आएको अध्यक्ष गुरुङले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।