३१ जेठ । बागलुङकी एक छात्राले प्रवेशिका परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या गरेकी छिन् । जिल्लाको ग्वालीचौर गाविस–८ की १६ वर्षीया वसन्ती घिमिरेले शुक्रबार साँझ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खार माध्यमिक विद्यालय ग्वालीचौरबाट प्रवेशिका परीक्षा दिएकी घिमिरे आफ्नै घरको माथिल्लो तलामा आत्महत्या गरेको अवस्थामा फेला परेकी खार प्रहरी चौकीका इञ्चार्ज विष्णुप्रसाद लम्सालले जानकारी दिए ।

रुकुम— सोचेअनुसार नतिजा नआएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन् । रुकुमकोट–६ छिप्रिदहिककी १५ वर्षीया रक्षा श्रेष्ठले एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको केही घन्टामै आत्महत्या गरेकी हुन् ।

सोह्र सय डायल गर्दा सिम्बोल नम्बर छैन भनेपछि उनले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । लामो समयसम्म छोरी कोठाबाट बाहिर नआएपछि बुबा सत्यप्रकाशले कोठामा हेर्दा छोरीलाई झुन्डिएको अवस्थामा भेटाएको स्थानीयले जानकारी दिएका छन् ।

रुक्मिणी उच्च मावि रुकुमकोटकी विद्यार्थी श्रेष्ठले जनता उच्च मावि पोखरा परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

यस्तै रुक्मिणी उच्च माविकी अर्की एक छात्राले पनि आज बिहान आत्महत्या गरेकी छिन् । खलङ्गा–८ रातामाटा घर भई रुकुमकोटस्थित मावलीमा बसेर पढ्दै गरेकी १५ वर्षीया गङ्गा थापाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान मकै गोड्न गएका बेला रक्षाको शव हेर्न गएकी थापा त्यसलगत्तै झुन्डिएकी जनाइएको छ । उनी झुन्डिएको ठाउँ नजिकै फेला परेको कागजमा ‘मलाई रक्षाले बोलाएकी छे म त्यतै गएँ’ भनेर लेखिएको जनाइएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।