अन्जली रम्तेल
काठमाडौँ, १९ जेठ । केही समयअघि वैदेशिक रोजगारबाट फर्कने क्रममा विमानस्थलका प्रहरीबाट लुटिएकी सीता राईको घटना सेलाउन नपाउँदै फेरि अर्की एक महिला पनि प्रहरीबाट लुटिएकी छिन् । कैलालीकी गीता चौधरी एक वर्षअघि विमानस्थलका प्रहरीबाटै आफ्नो इज्जत र कमाएर ल्याएको सबै सम्पत्तिसहित लुटिन पुगिन् । अहिले उनको काखमा बलात्कारपछि बसेको गर्भका कारण जन्मिएको छोरीसमेत छ । 
हाल काठमाडौँको एउटा घरमा घरेलु कामदारको रुपमा बसेकी गीताको साथमा तीन महिनाकी छोरी छिन् । घरको आर्थिक अवस्था निकै दयनीय रहेका कारण विदेशमा गएर केही कमाएर ल्याउने सपनासहित उनी २०६७ सालमा लेबनानका लागि उडेकी थिइन् । लेबनानमा त्यति राम्रो हुन नसके पनि उनले तीन वर्ष जसोतसो त्यहाँ बिताइन् । २०७० सालमा उनी नेपाल फर्किइन् । नेपालको विमानस्थल उत्रिएपछि काठमाडौँमा आफन्त र चिनेजानेको कोही नभएपछि कहाँ र कस्कोमा बस्ने भन्ने समस्यामा उनी परिन् । आपत पर्दा गुहार्ने थलो वा निकाय प्रहरी प्रशासन भएकाले उनले पनि त्यही गरिन् । विमानस्थलमा रहेका एकजना प्रहरीलाई उनले आफू काठमाडौँमा नौलो भएकाले कहाँ र कस्कोमा बस्दा ठीक होला भनेर सोधिन् । ती प्रहरीले गोङ्गबुस्थित मेरिना गेष्टहाउस राम्रो हुने र महिलाका .लागि सुरक्षित रहेकाले त्यहीँ बस्न सुझाएँ । गीताले भनिन् – ‘मलाई गोङ्गबु भन्ने कहाँ छ भन्ने पनि थाह नभएकाले मैले ती प्रहरीलाई त्यहाँसम्म पु¥याइदिन वा मान्छे बोलाइदिन आग्रह गरेँ ।’ सोहीअनुरुप ती प्रहरीले फोन गरेपछि गेष्ट हाउसका मानिस उनलाई लिन गाडी लिएर आइपुगे । उनी सजिलैसँग गेष्टहाउस पुगिन् । उनी भन्छिन् – ‘मलाई असाध्यै भोक लागेकाले मैले केही खानेकुरा माग्दा मलाई चाउचाउ पकाएर ल्याइदिए ।’ खाजा खाएपछि उनी बेहोस भइन् । 
केही घण्टापछि ब्युँतिदा आफ्नो कोठामा गेष्ट हाउसकै पुरुष मान्छे पस्न लागेको देखेपछि उनले आफू असुरक्षित महसुस गर्दै अर्को कोठामा सार्न भनिन् । सोहीअनुसार उनी अर्कै कोठामा बसिन् । साँझको खानामा पनि बेहोस हुने औषधि रहेकाले उनी खाना खानेबित्तिकै निदाइन् । त्यसपछि उनी स्वयम् र कमाएर ल्याएको सम्पत्ति समेत लुटियो । उनी बिहान ३ बजे ब्युँतिदा आफ्नो पैसा भएको ब्याग पनि भेटिनन् । तत्काल उनी गेष्टहाउसको काउन्टरमा गएर यसबारे बताउँदा उनीहरूले केही पनि जवाफ दिएन । आफ्नो अस्तित्व र अनि पैसा लुटिएको गेष्टहाउस मालिक रोम प्रधानलाई बताउँदा उनले ‘बिचरा’ भन्ने बाहेक केही नगरेको गीताको भनाइ छ । उनलाई कहाँ गएर आफूमाथि परेको समस्याबारे बताउने हो भन्ने थाहा नभएपनि माइती नेपालबारे जानकारी थियो । त्यही आधारमा उनी माइती नेपाल खोज्न दिनभर गौशाला क्षेत्र घुमेपनि उनले पत्ता लगाउन सकिनन् । प्रहरीमा जानुपर्छ भन्ने थाहा नपाउँदा उनी यत्तिकै घर फर्किइन् । कैलालीमा गएको केही दिनमा उनले प्रहरीमा यसबारे जानकारी त गराइन् । तर घटना काठमाडौँको भएकाले उनलाई यो घटनाको उजुरी पनि त्यहीँ गर्नुपर्छ भनियो । तर त्यही समय बाढी आएकाले पनि उनी तत्काल आउन सकिनन् । केही समयपछि काठमाडौँ आई प्रहरीलाई खबर गर्दा धेरै ढिला भइसकेको थियो । ३५ दिन नाघेकाले उनले उजुरी नै गर्न पाइनन् । 
त्यतिबेलासम्म गर्भ रहिसकेकाले उनले गर्भपतन गर्न खोज्दा प्रसूतिगृहले प्रहरीको निवेदनबिना नगर्ने र निजीमा असाध्यै महङ्गो भएकाले उनले गर्भपतन गर्न पनि सकिनन् । यसको परिणामस्वरुप अहिले उनी तीन महिनाकी छोरीकी आमा बन्न पुगेकी छिन् । उनले भनिन् – ‘मलाई त्यो प्रहरीको नाम पनि थाहा छैन, जसले ममाथि अन्याय ग¥यो । मेरो सतित्व लुट्यो ।’ ती प्रहरी गेष्टहाउसकै मालिकको आफन्त भएको जिकिर गर्दै उनले भनिन् – ‘लुकेर त्यो प्रहरी त्यहीँ बसेको छ, तर प्रहरीलाई जति नै भन्दा पनि मेरो कुरा सुन्दैन, त्यसैले आज मैले सञ्चारमाध्यमको सहयोग लिएकी हुँ ।’ ‘मलाई न्याय चाहियो, मैले विदेश पसिना बगाएर कमाएको पैसा फिर्ता हुनुप¥यो’ – उनले भनिन् । विदेशबाट ११ हजार ६०० डलर कमाएर ल्याएको उनी बताउँछिन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।