सोलुखुम्बु, १७ जेठ । छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि हृदयघातका कारण मृत्यु भएपछि विवाह नै रद्द गरिएको छ ।

पञ्चन–५ सोलुखुम्बुबाट शुक्रबार छोरा डोलराज कार्कीको विवाहको जन्ती लिएर पावै– ७ सोलुखुम्बुका भक्तबहादुर बस्नेतको घरमा जाँदै गर्दा बेहुलाका बाबु अक्कलबहादुर कार्की मुर्छा परी ढलेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ्मा लगिएकोमा राति ८ बजे मृत घोषित गरिएको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिए ।

उनको हृदयघातका कारण मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

बेहुलाका बाबुको मृत्यु भएपछि विवाह कार्यक्रम नै रद्द गरिएको छ । पञ्चन– ५ सोलुखुम्बुका डोलराज कार्की र पावै–७ की देवीकुमारी बस्नेतबीच विवाह हुन लागेको थियो । बेहुलाका बाबुको मृत्यु भएपछि जन्ती गएकाहरू मलामीमा परिणत भएर अन्तिम संस्कारका लागि गएका सोलुखुम्बु विकास समाज सोताङ्का कर्मचरी सुशील बस्नेतले जानकारी दिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।