चैत्र २८ । नेपाल उद्योग बाणिज्य महासंघको ४८औ साधारणसभा शुक्रवारबाट राजधानीमा शुरु भएको छ । उक्त साधारणसभाको संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले महासंघको बढ्दो चुनावी तडकभडकलाई कटाक्ष गरे ।
महासंघका अध्यक्ष सुरज वैद्यले कार्यक्रममा आफ्नो पदको विदायी मन्तव्य व्यक्त गर्दे रोजगारी सिर्जनालाई केन्द्रबिन्दुमा राखेर नेपालको सम्भावनाको रुपमा कृषि, उर्जा, पूर्वाधार, सेवा उद्योग, तथा खनिज खानीलाई आफु नेतृत्वको कार्य समितिले अघि सारेको दावी गरे । यसपालिको साधारण सभाले आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन पछि सुरु हुने बन्दसत्रमा अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारहरुले नीतिगत मन्तव्य दिएका थिए । शनिवार हुने निर्वाचनबाट नयाँ कार्य समिति चयन हुनेछ ।
महासंघको नेतृत्वका लागि दुई वटा समूह चुनावी मैदानमा होमिएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष भास्करराज राजकिर्णकारले एउटा समूहको र उपाध्यक्ष प्रदीपजंग पाण्डेले अर्को समूहको नेतृत्व गरेका छन् ।
पुर्वअध्यक्षहरु महशेलाल प्रधान, रविभक्त श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ कार्यक्रममा गएनन् । पुर्वअध्यक्ष विनोद चौधरी पनि कार्यक्रममा थिएनन् । उद्घाटन सत्र पछि शुक्रबार मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीमा दावी विरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारीको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यक्रम छ । शनिवार विहान नौ बजेदेखि एक बजेसम्म मतदान हुने कार्यक्रम महासंघको निर्वाचन समितिले प्रकाशित गरेको छ । मतदानमा ९३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ, ८९ वटा बस्तुगत संघ, १२ वटा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघ, छ सय चार वटा एशोसिएट सदस्यले भाग लिन पाउनेछन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।