काठमाडौं ४ चैत । दृष्टिबिहिन विभिन्न तहमा अध्ययनरत ८० जना विद्यार्थीलाई मोबाइलमा नै पठन पाठन गर्न मिल्ने गरी एन्ड्रोइड मोबाइल वितरण गरिएको छ । दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई अपांगता अधिकार विकासका लागि क्रियाशील (एड्राड) नेपालले एन्ड्रोइड मोबाइल वितरण गरेको हो ।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका बिच वल्र्ड इन्टरनेशनल प्रोपर्टी अर्गनाइजेशनको सहयोगमा श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन सेभेन प्रो मोबाइल वितरण गरिएको हो ।
नमूना मक्षिन्द्र मावि, मेगा कलेज र सञ्जिवनी माविलगायत प्रदेश नं ३ का विभिन्न स्कुल र कलेजका दृष्टिविहीनसम्बन्धी अपांगता भएका व्यक्तिलाई सो मोबाइल वितरण गरिएको हो । उक्त संस्थाले यसअघि झापामा ७० जना, पोखरामा ५५ जना दृष्टिबिहिन विद्यार्थीलाई मोबाइल वितरण गरिसकेको छ । क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेलले अब बाँके, सुर्खेत, बुटवल लगायत जिल्लाका १३३ जना दृष्टिबिहिन विद्यार्थीलाई निकट भविष्यमै मोबाइल वितरण गर्ने जनाए । मोबाइल वितरण कार्यक्रममा बोल्दै पोखरेलले अपाङ्गता भएका व्यक्तिको व्यवसायिकता र क्षमता अभिवृद्धि गर्न मोबाइल वितरण गरिएको जनाए । उनले दृष्टिबिहिन विद्यार्थीहरुको शिक्षाका लागि सरकारले विशेष चासो दिनुपर्ने समेत जनाए ।
राष्ट्रिय अपांग महासंघ नेपालका सचिव ओमप्रकाश बन्जाडे र अपांगता अधिकारकर्मी रमेश तिवारी र निर्मला धितालले अपांगता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्नेमा जोड दिए । नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना रहेका छन् । यसमा शारीरिक अपांगता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपांगता ६, बौद्धिक अपांगता २ दशमलव ९ र बहुअपांगता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।