राज्यद्धारा अझै बनाइएन युद्धमा जलाईएका घरहरु

 दिप बहादुर घर्ति
२०५७ सालमा जलाएको खलंगा गाविस भवन, जुन अहिले भने निर्माण भैसकेको छ ।
जाजरकोट १४ चैत्र ।  युद्ध समाप्ति भएको झण्डै ७ बर्ष विति सक्दा पनि जाजरकोटमा युद्धको वेला जलाईएका घरहरु राज्यले निर्माण गर्न सकेको छैन । राजनैतिक दलको नेतृत्वमा बन्ने सरकारहरुले राज्य प्रति जिम्मेवार बन्न नसके पछि जलेर नष्ट भएका घरहरु हाल सम्म निर्माण हुन सकेका छैनन ।
जिल्लामा सशस्त्र द्धन्दकै क्रममा राज्य र माओवादी दुवै पक्षवाट जलाइएका घरहरुमा ७० वटा व्यक्तिगत घरहरु छन भने सरकारी घरहरु गाविस भवन,प्रहरी चौकी,कृर्षि सेवाकेन्द्र,वन कार्यालय,रेन्जरपोष्ट लगाएतका जलाएर नष्ट गरिएका घरहरुको संख्या १ सय ८१ को हाराहारीमा रहेको छ । साथै नदी तर्ने पुल,सिंचाई कुलो,खानेपानी आयोजनाहरु दर्जनौ नष्ट भएका थिए । हाल गाउँका महत्वपूर्ण सेवाग्राही कार्यालय रुपमा रहेका अधिकांस गाविस,वन,कृषि र प्रहरी चोकीहरु चर्को घर भाँडा तिरेर बसी रहेका छन । 
जिल्ला भरी सरकारले हाल सम्म सरकारी भौतिक संरचना प्रहरी चौकी,गाविस भवन,वन कार्यालय, खानेपानी, सिंचाई जस्ता आयोजना गरि जम्मा १६ वटा मात्र भौतिक संरचना निर्माण गरी सकेका स्थानिय शान्ति समिति कार्यालय सचिव चन्द्राकला अधिकारीले वताईन । उनीले २ सय ३५ वटा भौतिक संरचना निर्माण गर्न अझै वाँकी छ भनिन् ।
२०५७ सालमा जलाएको जिल्ला वन कार्यालय भवनको अवशेष
युद्धको ठुलो मार खेप्नु परेको जाजरकोटमा ज्यान गुमाउन पुगेका ४ सय ८१ जना मध्ये ३ सय ९० जनाले मात्र हाल सम्म राहत पाएका छन भने अझै ९१ जनाको घर परिवारले राहत पाउन सकिरहेका छैनन । 
माओवादी,सरकार दुवै पक्षवाट अपहरण गरिएका १७ सय २६ जना मध्ये २ सय २७ जनाले मात्र राहत पाएका छन भने १४ सय ९९ जनाले अझै राहत पाउन सकिरहेका छैनन । घाईते तथा अंगभंग भएका १७ सय १८ जना मध्ये ४ सय ९९ जनाले मात्र राहत पाएका छन भने १२ सय १९ जनाले अझै राहत पाउन बाँकी छ । राज्य पक्षवाट मात्र वेपत्ता पारिएका १७ जना मध्ये १४ जनाले मात्र राहत प्राप्त गरेका छन भने ३ जनाले अझै राहत पाउन सकि रहेका छैनन । ९४ जना टुहूरा वालवालीका मध्ये ४८ जनाले मात्र राहत प्राप्त गरेका छन भने ४६ जनाले अझै राहत पाउन सकिरहेका छैनन । व्यक्तिगत सम्पति क्षेति भएका ७ सय ८६ जनाको मध्ये १२ जनाले मात्र राहत प्राप्त गरेका छन भने ७ सय ७४ जनाले अझै राहत पाउन सकिरहेका छैनन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।