चैत्र १३ । श्रीमती सभासद्, श्रीमान् निजी सहायक (पिए), श्रीमान सभासद्का पनि श्रीमती पिए । संविधानसभामा अहिले थुप्रै यस्ता सभासद् छन् जसले आफ्नै श्रीमन् वा श्रीमतीलाई पिए राखेका छन् । आफ्नै परिवारका सदस्य या नजिकका नातेदारलाई पनि पिए राख्ने पनि धेरै छन् ।
सभासद्हरुको सेवासुविधासम्बन्धी ऐनमा पिए नियुक्त गर्ने अधिकार सभासद्लाई नै दिइएको छ । त्यसैले अधिकांशले आफ्नै परिवार निकटका व्यक्तिलाई पिए नियुक्त गर्ने गरेका छन् । आफ्नै श्रीमान या श्रीमती, छोराछोरी, सालासालीलाई पिए राख्ने धेरै छन् । केहीले मात्र कार्यकर्तालाई पिए राखेको खबर नयाँ पत्रिकाका छापिएको छ ।
एकीकृत माओवादी सभासद् दुर्गादेवी खुनाले आफ्नै श्रीमान् बिहारी खुनालाई पिए राखेकी छिन् । दुर्गादेवीले आफ्नो स्वास्थ्यका कारण श्रीमानलाई पिएमा नियुक्त गरेको बताइन् । ‘मेरो स्वास्थ्य कमजोर छ, तीनपटक अप्रेसन गरेँ । त्यसैले रेखदेख गर्न सजिलो होस् भनेर श्रीमानलाई पिएमा नियुक्त गरेँ,’ उनले भनिन्(’यसबाट मलाई सजिलो भएको छ । यसमा अरु कुनै कारण छैन् ।’
आफ्नो परिवारका सदस्यलाई पिए राख्ने सभासद्मा खुना मात्रै छैनन् । यस्ता दर्जनौं सभासद् छन् । जसले परिवार या नजिकका नातेदारलाई पिएमा नियुक्त गरेका छन् । ऐनले सभासद् नियुक्त गर्ने पिएको शैक्षिक योग्यता यति नै हुनुपर्छ भनेर तोकेको पनि छैन् । पिए राख्ने व्यक्तिको नेपाली नागरिकताको फोटोकपी संसद सचिवालयको सांसद सेवा सुविधाशाखामा बुझाए पुग्छ । पिएवापत आउने तलब सम्बद्ध सांसदको बैंक खातामा जम्मा हुने गर्छ । यसले पिएले सम्बद्ध सांसदहरुबाट नै तलब पाउने गर्छन् । पिएको तलब शाखा अधिकृतसरह २२ हजार रुपैयाँ हुने छ ।
एमालेका सभासद् देवराज भारले श्रीमती बिम्पीरानी पन्थीलाई पिए नियुक्त गरेका छन् भने फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले पनि पिएका लागि श्रीमती सन्धया मानन्धरको नियुक्ति गरेका छन् ।
दैलेखका एमाले सभासद् लक्ष्मीप्रसाद पोखरेलले पिएमा छोरा योगेश पोखरेललाई नियुक्त गरेका छन् भने कांग्रेस सभासद् अशोक कोइरालाले छोरी इशा कोइरालालाई पिए बनाएका छन् । त्यस्तै नवलपरासीका सभासद वैजनाथ चौधरीले पनि पिएमा छोरा विजय चौधरीलाई नियुक्त गरेका छन् ।
Comments