दिप बहादुर घर्ति
जाजरकोट, १२ चैत्र । खलंगा जुम्ला सडक अन्तरगत सदरमुकाम खलंगा देखि पाँचकाटिया सम्मको सडक खण्ड निर्माणमा सडक विभाग र जिल्ला विकास समिति अन्तरगतका विभिन्न कार्यक्रमहरुवाट थुप्रै रकम खर्च भइसकेको भएता पनि सडक बन्न सकेको छैन । सडक बन्न र बनाउन रकम मात्र भुक्तानी गर्ने बैंक जस्तै बनेको छ खलंगा पाँचकाटिया सडक ।
सडक विभाग, जिल्ला विकास समिति र ठेकेदारको लापरवाहिका कारण पाँचकाटिया सम्म २४ किलोमिटर सडक निर्माणमा थुप्रै सरकारी रकम सकिएता पनि उपलव्धी हेर्दा सुन्य भएको हो । सडक निर्माण भएको भनी हल्ला गरिएको २ बर्ष बितिसक्दा पनि यातायात सन्चालनको कुनै सम्भावना नदेखिएपछि स्थानीयहरु निकै आक्रोसित बनेका छन् ।
सडक वनेको भनेर हल्ला मात्र गरिएको तर वन्न वाँकी धेरै रहेको उनीहरुको आरोप छ । सडक निर्माण भएको भनी वेसरी हल्ला गर्न थालेको एक वर्ष भन्दा वढी भइसक्दा पनि सवारी साधन हिड्न मिल्ने कुनै अवस्था नहुनु दुखको कुरा भएको बाहुनथानका टिकाराम खड्काले बताए । उनले पाँचकटिया सडक निर्माणमा खुलेआम आर्थिक चलखेल भए पनि सरोकारवालाहरु मौन रहेको आरोप लगाए ।
स्थानीयहरुले सडक निर्माणमा आर्थिक तथा राजनैतिक अनियमितता भएको आरोप लगाउने गरेका छन् । कामै नभएर यत्रो रकम भुक्तानी हुनु खुलेआम अनियमितता भएको उनीहरुको तर्क छ । सदरमुकाम खलंगा देखि ढिमे र खलंगा गाविसको सीमाना पाँचकाटिया सम्मको सडक निर्माणमा सडक विभागको ४ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)को २ करोड ६२ हजार ४५ र जिल्ला विकास अनुदानको ५३ लाख १८ हजार ९ सय २० गरि जम्मा २ करोड ५३ लाख ८० हजार ९ सय ६५ रुपैया भुक्तानी भइसकेको स्थानीय विकास अधिकारी चक्रवहादुर वुढाले वताए ।
उनले सडक निर्माणमा सरोकारवालाहरुको लापरवाहिका कारण समस्या आएको वताए । आर्थिक वर्ष २०६५ ÷०६६ देखि निर्माण कार्य सुरु भएको उक्त सडकको निर्माणको जिम्मा आव २०६९/०७० देखि सडक विभागले लिएको थियो । सडक विभागले पनि रकम भुक्तानी गर्ने काम मात्र गरेको स्थानीय सरोकारवालाहरुको आरोप छ । सडक विभागको उक्त सडक निर्माणका लागि २ करोड ४० लाखको योजना भएपनि टेन्डर प्रक्रियामा जादा सुर्खेतका पदम खड्काले ८० लाखमा ठेक्का हाल्दा अफिसवाट ८० लाखको ठेक्का स्वीकृत भएको थियो भने जस अन्तरगत हाल सम्म ४ लाख मात्र भुक्तानी गएको सडक विभागले जनाएको छ । ८० लाखमा ठेक्का बोल्ने ठेकेदार खड्काले १ बर्ष विति सक्दा पनि काम गरि सकेका छैनन । सोहि सडकका लागि यस अघि जिल्ला विकास समितीले २ करोड ५३ लाख रकम खर्च गरिसकेको छ । राजनैतिक दवावमा पहिले तय भएको सडक निर्माणको एलाइन्मेन्ट परिवर्तन गरेका कारण हाल सम्म सडक निर्माण कार्य पुरा हुन नसकेको सडक विभागको सुर्खेत ४ नम्वर डिभीजनका प्रमुख भानु जोशीले वताए । उनले अहिलेकै एलाइन्मेन्ट अनुसार कुनै पनि हालतमा पाँचकाटिया सम्मको वाटो निर्माण गर्न नसकिने बताए ।
अप्ठेरा घुम्तीहरु र भौगोलिक कठिनाईका कारण सडक निर्माणका लागि खलंगाको राङसी देखि पाँचकाटिया सम्मको एलाइन्मेन्ट परिवर्तन गर्नु पर्ने जोशीले वताए । ढिलो टेन्डर स्वीकृतिले गत वर्ष काम ढिलो भएका कारण सडक निर्माणको कार्य अधुरो रहेको उनको भनाइ छ । तर स्थानीय निर्माण व्यावसायीहरु भने सडक निर्माणमा हाकाहाकी अनियमितता भएको आरोप लगाउछन् । निर्माण व्यावसायी संघ जाजरकोटका सचिव रणवहादुर कार्की पाँचकाटिया सडक निर्माणमा रकम भुक्तानी गरेर पनि सडक नवन्नु रहस्यमय भएको वताउछन् । ठुलो रकम खर्च भएर पनि सामान्य अवस्थाको सडक नवन्नु सरासर आर्थिक चलखेल भएको हुन सक्ने स्थानीय निर्माण व्यावसायी टोपवहादुर थापाले वताए । वाटो वन्यो भन्ने तर कुनै पनि सवारी साधन चल्न नसक्ने के सडक वनेको हो,आफुले बुझ्नै सकिन थापाले आक्रोस पोख्दै भने । सडक विभागले पाँचकाटिया देखि अगाडि ३२ किलो मिटर थप सडकका लागि नयाँ ठेक्का सम्झौता भइसकोको वताएको छ । सुरुमा पाँचकाटिया सम्मका लागि भनेर सडक निर्माण गरिएपनि पछि सडक विभागले यसलाइ खलंगा देखि जुम्ला सम्मको सम्मको योजना वनाएको छ ।
Comments