चैत्र ११ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनमा साढे आठ अर्ब लगानी हुन सक्ने सम्भावित क्षेत्र सार्वजनिक गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको नेपालमा लगानी सम्भावनाका योजनामा काठमाडौं उपत्यका र विभिन्न बाहिरी जिल्लामा होटेल तथा रिसोर्ट निर्माण गरिने उल्लेख छ। पूर्वाधारका रूपमा आठवटा होटेल तथा रिसोर्टमा यो लगानी हुनेछ। यस्ता आयोजना आगामी दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्नेगरी सञ्चालनको तयारी भइरहेको बताइएको छ ।
योजना अनुसार काठमाडौंमा एउटा होटेल तथा एउटा रिसोर्ट निर्माण हुनेछन्।त्यस्तै लुम्बिनी, मुस्ताङ, काभ्रे, पोखरा, नगरकोट र पाल्पामा एक–एकवटा होटेल तथा रिसोर्ट निर्माण गरिने भएको छ । महासंघले जारी गरेको सम्भावित योजनासम्बन्धी पुस्तिकाका अनुसार १३ करोड रुपैयाँदेखि तीन अर्ब रुपैयाँसम्मका योजना सार्वजनिक भएका छन् ।
पाल्पाको नुवाकोटमा २४ करोड ९२ लाखको हिलसाइट भिलेज रिसोर्ट, नगरकोटमा दुई अर्ब ९३ करोडको द भ्याली भिल्ला, काठमाडौंको तीनकुनेमा एक अर्ब ६६ करोडको अ सुपर लग्जरी बिजनेस होटेल इन काठमाडौं निर्माणको योजना समावेश गरिएको छ ।
पोखरामा ६८ करोड ४१ लाखको एन इको रिसोर्ट होटेल इन पोखरा, काभ्रेमा एक अर्ब ९५ करोडमा रिसोर्स हिमालय बुटिक रिसोर्ट, मुस्ताङमा १३ करोड ६८ लाखमा लो मुस्ताङ रिसोर्ट निर्माण हुने भएको छ। काठमाडौंमै १६ करोड ६१ लाखमा काठमाडौं भ्याली रिसोर्ट र लुम्बिनीमा ४८ करोड ८७ लाखमा लर्निङ सेन्टर एन्ड वेलनेस होटेल इन लुम्बिनी निर्माण हुने महासंघको योजना छ ।
Comments