काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् ।
विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताए ।
उनले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।”
सही रणनीतिसहित समाजवादतर्फ : ‘प्रचण्ड’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताएका छन् ।
उनले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टीभित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले भने, “माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।”