चैत्र ६ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि आंशिक रुपमा फिर्ता लिएको छ । सरकारले बिहीबार संसद बैठकलाई मूल्य घटाएको सम्बन्धमा जानकारी दिएको छ ।
आंशिक रुपमा फिर्ता लिइएको मूल्य वृद्धि अनुसार पेट्रोलमा १० रुपैया बढेकोमा ५ रुपैया ५० पैसा घटाएर प्रति लिटर १ सय ३४ रुपैया ५० पैसा कायम भएको छ ।
यस्तै, डिजेल र मट्टितेलमा ६–६ रुपैयाँ बढेकोमा ३ रुपैयाँ ५० पैसा घटाएर प्रति लिटर १ सय ४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हवाई इन्धनमा भने बढेको मूल्यलाई नै यथावत राखिएको छ ।
पेट्रोलिय पदार्थको मूल्य कटौती गरिएको सम्बन्धमा संसद बैठकलाई जानकारी दिंदै वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु बाध्यात्मक भएपनि संसद तथा अन्य सरकोकारवाल पक्षबाट उठेको आवाजलाई सरकारले सम्बोधन गरेको बताए ।
पेट्रोलियम पदार्थको मूल्यमा दीर्घकालीन समाधान खोज्न संसदीय छानबिन समिति बनाएर काम गरिने पनि उनले बताएका थिए । त्यसपछि प्रतिपक्ष दललहरुले पनि समस्याको दीर्घकालिन समस्या समाधानको लागि संसदीय समिति गठन गर्ने भएकाले त्यसैबाट समाधान खोजिने भन्दै संसद् सुचारु गर्ने सहमति जनाएका थिए ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिपछि विगत केही दिनदेखि लगातार अवरुद्ध हुँदै आएको संसद बैठक आजैबाट सञ्चालन भएको छ । त्यसअघि बिहीबार नै पेट्रोलिम पदार्थको मूल्यबृृद्धिलाई लिएर संसद बैठक अवरुद्ध भएको थियो ।
मूल्यबृद्धिमा कटौती गर्ने सरकारको निर्णयपछि बसेको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले सरकार र विपक्षीहरुबीच दूरी बढाउने पक्षमा आफूहरु नरहेको बताए ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि विपक्षीहरुलाई पेलेर अघि नबढ्न सरकारलाई आग्रह गरे ।
मूल्यबृद्धि विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले पनि सडक आन्दोलन गर्दै आएका थिए ।
Comments