फागुन ३० । एकीकृत नेकपा माओवादीले सरकारले दुध तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोप्रति कडा विरोध जनाउँदै मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
एमाओवादीले विज्ञप्ति निकालेर काँग्रेस–एमालेको पुरानै जनविरोधी रवैया उजागर गरेको आरोप समेत लगाएको छ ।
‘नयाँ सरकार बनेको एक महिना पनि पुरा नहुँदै नेपाली जनताको ढाड सेक्ने गरी जनताका अति आवश्यकीय दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्यवृद्धिप्रति हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को गम्भीर ध्यानाकर्षण भएको छ’ पार्टी प्रवक्ता दीनानाथ शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगम मार्फत आजबाट पेट्रोलमा प्रतिलिटर रू १०, डिजेल र मट्टितेल प्रतिलिटरमा रू ६ का दरले वृद्धि गरेको छ । त्यस्तै बालबालिकाको जीवनको अति आवश्यक पेय पदार्थ र दुग्ध पदार्थहरुमा भएको मूल्यवृद्धिको सरकारले घोषणा गरेर नेपाली जनताको थाप्लोमा महंगीको भार थोपरेको छ भने खानेपानी र विद्युत महशुल भारी मात्रामा बढाउँदै छ । सरकारको यो निर्णयको हाम्रो पार्टी घोर विरोध र भत्र्सना गर्दछ साथै यस मूल्यवृद्धि तुरुन्त फिर्ता लिन सरकारसित जोडदार माग गर्दछौं ।’
एमाओवादीले निगममा भएका अनिमितता, चुहावट र भ्रष्टाचारको बेवास्ता गरी जनतालाई मात्र बोझ थोपर्ने प्रकारका हर्कतले काँग्रेस–एमालेको पुरानै जनबिरोधी रवैया उजागर गरेको पनि आरोप लगाएको हो । एमाओवादीले वर्तमान काँग्रेस–एमाले सरकारको जनबिरोधी कार्य गरेको भन्दै कडा प्रतिवाद गर्ने समेत जनाएको छ ।
Comments







